वैज्ञानिक साम्यवाद : निर्विकल्प भावी समाज–व्यवस्था

“समाजले उत्पादनका साधनहरु कब्जा गरिसकेपछि माल उत्पादन समाप्त हुनेछ र यसको साथै उत्पादकमाथि उपजको प्रभुत्व पनि समाप्त हुनेछ । सामाजिक उत्पादनमा अराजकताको स्थान व्यवस्थित र निश्चित संगठनले लिनेछ । व्यक्तिगत अस्तित्वका लागि हुने संघर्ष विलोप हुनेछ । त्यसपछि खास अर्थमा मानिसले पहिलोपटक बाँकी पशुजगतबाट आफूलाई अन्तिम रुपमा अलग गर्नेछ र पाशविक अस्तित्त्वको परिस्थितिलाई छोडेर वास्तविक मानव अस्तित्वमा प्रवेश गर्नेछ । जीवन परिस्थितिको समग्र क्षेत्र जसबाट मानिसको पर्यावरण तयार हुन्छ र जसले अहिलेसम्म मानिसमाथि शासन गर्दै आएको हुन्छ, त्यो अब मानिसको प्रभुत्व तथा नियन्त्रण अन्तर्गत आउनेछ, त्यो पहिलो पटक प्रकृतिको वास्तविक र सचेत मालिक बन्दछ किनभने ऊ आफ्नो सामाजिक संगठनको स्वयं मालिक बनेको हुन्छ । अहिलेसम्म उसको सामाजिक कार्यको नियमले बाह्य प्राकृतिक नियमका रुपमा आमनेसामने भएर उसमाथि शासन गर्ने गर्दथ्यो, अब उसले स्वयं त्यसलाई पूर्ण समझदारीका साथ उपयोग गर्नेछ र त्यसलाई आफ्नो नियन्त्रणमा राख्नेछ । अहिलेसम्म मानिसको आफ्नो सामाजिक संगठनले प्रकृति र इतिहासद्वारा थोपरिएको एउटा आवश्यकताका रुपमा मानिसको मुकाबिला गर्दथ्यो भने अब त्यो उसको स्वतन्त्र कार्यको परिणाम बन्नेछ । अहिलेसम्म जुन बाह्य वस्तुगत शक्तिले इतिहासमाथि शासन गर्दै आएको हुन्छ । त्यसपछि मात्र मानिसले स्वयं पूर्ण चेतनाकासाथ आफ्नो इतिहास आफै बनाउनेछ–त्यसपछि मात्र उसले सामाजिक कारणहरुलाई गतिवान बनाउनेछ, त्यसपछि मूलत: निरन्तर बढ्दो मात्रामा उसद्वारा चाहेको परिणाम हुनेछ । यो मानिसको आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा छलाङ हुनेछ”– एङ्–गेल्स, ड्यूहरिङ मतखण्डन, १८७६–७८, प्रगति प्रकाशन मास्कोद्ववारा १९८७ मा प्रकाशित माक्र्स–एङ्गेल्स संकलित रचनाहरु, ग्रन्थ–२५, पृ. २७०–७१ ।
यो ‘आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा छलाङ लगाउने व्यवस्था भनेको साम्यवाद हो । यो उच्चतम समाज व्यवस्था उत्पादनका साधनहरु समाजले कब्जा गरी माल उत्पादन समाप्त भएपछि आउँदछ । यसको प्रथम चरण भनेको वैज्ञानिक समाजवाद हो । लेनिनको परिभाषामा ‘वैज्ञानिक समाजवादले सबभन्दा पहिले समाजवादलाई कल्पनाविलासबाट विज्ञानमा रुपान्तरित गरेको छ, यो विज्ञानको आधारशिला बन्यो र त्यो बाटो लक्षित गर्‍यो जसलाई विज्ञानको अझ विकास गर्न तथा यसका समग्र भागहरु समेत विकसित गर्नका लागि अनुशरण गर्नुपर्नेछ’– हाम्रो कार्यक्रम, भ्ला.ई. लेनिन संकलित रचनाहरु, दश खण्डमा खण्ड १, पृ. ४५८, प्रगति प्रकाशन मास्कोद्वारा १९८० मा प्रकाशित हिन्दी संस्करण । माक्र्सको परिभाषा अनुसार–‘यो समाजवाद स्थायी क्रान्तिको उद्घोषण हो जसमा सामान्यत: वर्गविभेदको उन्मूलन गर्न, त्यो वर्गविभेद आधारित हुने सम्पूर्ण उत्पादन सम्बन्ध उन्मूलन गर्न, त्यो उत्पादन सम्बन्ध अनुरुपको सम्पूर्ण सामाजिक सम्बन्ध उन्मूलन गर्न र त्यो सामाजिक सम्बन्धबाट उत्पन्न सम्पूर्ण विचारहरुलाई क्रान्तिकारीकरण गर्न आवश्यक संक्रमण बिन्दुका रुपमा सर्वहारावर्गको अधिनायकत्व रहेको हुन्छ’–फ्रान्समा वर्गसंघर्ष—१८४८–१८५०, माक्र्स–एङ्गेल्स संकलित रचनाहरुको प्रगति प्रकाशन मास्कोद्वारा १९७८ मा प्रकाशित अंग्रेजी संस्करण, ग्रन्थ १०, पृ. १२७ ।
आजको समस्या भनेको आफूलाई आफै साम्यवादी घोषणा गरी साम्यवादी दल निर्माण गर्ने तर साम्यवादको मौलिक सिद्धान्त के हो भनी कहिल्यै पनि माक्र्सवादको अध्ययन नगर्नु हो । यदि कसैले माक्र्सवाद अध्ययन गरिहाल्यो भने पनि यसलाई जीवन व्यवहारमा लागू नगर्ने र समयसापेक्ष माक्र्सवादको विकास नगर्ने अर्को समस्या हो । तेश्रो समस्या भनेको सोभियत संघको विघटन र समाजवादमा प्रतिक्रान्ति भएपछि साम्राज्यवादीहरु र तिनका दास संशोधनवादीहरुद्वारा ‘माक्र्सवाद पुरानो भयो’ भनी फैलाइएको प्रदुषण– बाट प्रभावित भई सृजनात्मकताका नाममा माक्र्सवादको विकृतिकरण गर्नु हो । यहाँ हामी यी समस्याहरुको विश्लेषण गर्ने कोसिस गर्दैछौं ।
साम्यवाद भावी समाज व्यवस्था हो । त्यो भावी समाज व्यवस्था प्राप्त गर्न हामीले साम्यवादी दल बनाएका छौं । साम्यवादी दल साम्यवादलाई आफ्नो ध्येय र उद्देश्य बनाउने साम्यवादी आचरण भएका मानिसहरुको संगठन हो । यस दलको सदस्यता प्राप्त गर्ने व्यक्तिले आफ्नो दललाई साम्यवादको अभ्यास गर्ने इकाई बनाउनुपर्दछ । उसले ब्यक्तिगत अस्तित्वका लागि होइन, सामाजिक अस्तित्वका लागि संघर्ष गर्नुपर्दछ । पशुजगतबाट आफूलाई अलग राखेर उसले आफूलाई मानव अस्तित्वमा पुर्‍याउने अभ्यास गर्नुपर्दछ । अहिलेसम्म मानिसमाथि शासन गर्दै आएको जीवन परिस्थितिलाई बदलेर एउटा साम्यवादी त्यसलाई आफ्नो नियन्त्रणमा लिइ सामाजिक संगठनको मालिक बन्नुपर्ने भएकोले उसले त्यस अनुरुपको अभ्यास गर्नुपर्दछ । यसो भएपछि मात्र मानिसले आफ्नो इतिहास आफै बनाउन थाल्नेछ । एउटा साम्यवादीले प्राकृतिक पर्यावरण र सामाजिक पर्यावरणलाई समायोजन गरेर मात्र साम्यवादी हुनसक्छ । त्यसकारण माक्र्सले ‘१८४४ का आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरु’मा भन्नु भएको छ–‘यो साम्यवाद पूर्णरुपले प्रकृतिवादमा विकसित भएर मानवतावाद समान हुन्छ र मानवतावाद पूर्ण रुपले विकसित भएर प्रकृतिवाद समान हुन्छ । … साम्यवाद भनेको इतिहासको रहस्य समाधान हो र यसले आफ्नो समाधान आफै जान्दछ’ — पृ. ११४, नेपाली अनुवादक — सुदर्शन । यसले के कुरा स्पष्ट गर्दछ भने साम्यवादलाई प्रकृतिवादमा विकसित गरिसकेपछि मात्र मानवतावाद जन्मन्छ । प्रकृतिवाद भनेको पूँजी संचयको बन्धनबाट मुक्त समाज हो । पूँजीले मानिसलाई प्राकृतिक स्वतन्त्रताबाट बन्धनमा राखेको छ । त्यति मात्र होइन, यसले त मानिसलाई समेत माल बनाएर बजारमा पुर्‍याइदिएको छ र मानिसलाई मानिसको दास बनाइदिएको छ । मजदूर–मानिसको श्रमद्वारा निर्मित वस्तु उसकै लागि विरानो भएको छ । त्यो विरानो वस्तु जसलाई मजदूरले आफ्नै श्रमबाट निर्माण गरेको हो, त्यसलाई किन्न थप श्रम बेच्नुपर्दछ । मजदूरहरुको सामूहिक श्रमद्वारा निर्मित वस्तुको मालिक व्यक्ति बन्दछ । यसैलाई सामूहिक उत्पादनको व्यक्तिगत स्वामित्व भनी माक्र्सले हामीलाई सिकाउनु भएको छ । व्यक्तिगत स्वामित्वलाई सामूहिक स्वामित्वमा रुपान्तरण गर्नु साम्यवादी दल र त्यस दलका सदस्यहरुको मूल मुद्दा हो । वैज्ञानिक समाजवाद नै वैज्ञानिक साम्यवादको प्रथम चरण हो । यसमा पुग्न हामीले वर्गसंघर्ष गर्नुपर्दछ । वर्गसंघर्षको उच्चतम स्वरुप सशस्त्र संघर्ष अपरिहार्य छ किनभने सशस्त्र पूँजीवादी तथा नेपालका सन्दर्भमा दलाल नोकरशाही राज्यसत्ताले आफ्नो सत्ता शान्तिपूर्ण संघर्षले छोड्दैन । सशस्त्र संघर्षद्वारा राज्यसत्ता पल्टाएर जनसत्ता स्थापना गर्नु भनेको सत्ताच्यूत वर्गमाथि सर्वहारावर्गीय अधिनायकत्व लागू गर्नु हो । समाजमा वर्ग रहेसम्म यो माक्र्सवादी मान्यतामा विकास हुन्छ, तर यो पुरानो हुँदैन । यही आधारभूत मान्यताबाट चिप्लनु नै संशोधनवाद हो ।
साम्यवादी दल र यसका नेता तथा सदस्यहरुले साम्यवादी सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादलाई जीवन व्यवहारमा लागू गर्नुपर्दछ । हामीले आजदेखि हाम्रो साम्यवादी दलका हरेक तह र साम्यवादी दलको माथिल्लो तहका नेता तथा सदस्यहरुकोे परिवारलाई वैज्ञानिक साम्यवादको भ्रूण बनाउनुपर्दछ ताकि यसले गर्दा समाजलाई नमूना विकल्प दिन सकियोस् । हामीले राज्यसत्ता, विचारधारा, संस्कृति, कार्यशैली र नैतिकतामा विकल्प खोजेनौं भने आजको भूमण्डलीकृत तथा निगम पूँजीवादी दुनियाँमा हामी हराउनेछौं । हाम्रा कमरेडहरु निराश हुनुको कारण भनेकै घुमफिरी पूँजीवादी संसदीय व्यवस्थाको आहालमा डुब्नु हो । झापा विद्रोह भयो र त्यसले क्रान्तिकारी बाटोमा अघि बढ्ने जमर्को गर्‍यो । त्यो विद्रोहका कारण देशव्यापी संगठन बन्यो । तर त्यो ‘‘जनताको बहुदलीय जनवाद’’ भएर संसदीय आहालमा डुब्यो । हामीले हेर्दाहेर्दै त्यसका नेताहरु साम्राज्यवादका चाटुकार बने । ऐतिहासिक दशवर्षे जनयुद्धले क्रान्तिको मशाल बालेको थियो, तर यो पनि असफल भयो । हामीले आँखा झिमिक्क नपार्दै त्यसको नेतृत्व गरेका नेताहरु पनि संसदीय व्यवस्थाको दलदलमा फसे । यो वास्तवमा निम्न पूँजीवादी अधैर्यताको परिणाम थियो । क्रान्तिकारी धैर्यताले मात्र क्रान्तिकारी विकल्प बन्दछ । त्यसकारण हामीले माक्र्सवादको अध्ययनसँगै त्यसलाई जीवन व्यवहारमा लागू गर्नुपर्दछ र समयसापेक्ष माक्र्सवादको विकास पनि गर्नुपर्दछ । माक्र्सवादको विकास गतिशील विश्व परिस्थिति र राष्ट्रिय परिस्थितिको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी अध्ययनबाट मात्र हुन्छ । यो भनेको वैज्ञानिक विधि र वैज्ञानिक आँखा हो ।
पूँजीवादी र साम्राज्यवादीहरुले ‘माक्र्सवाद पुरानो भयो’ भन्नु अनौठो र आश्चर्यजनक कुरा होइन । जसले आफूलाई माक्र्सवादको धुरन्धर विद्वान र आफ्नो दलको नाम ‘माके’, ‘एमाले’ र ‘माओवादी’ राख्दछन्, तिनले नै माक्र्सवाद पुरानो भयो भन्दछन् । कतिपयले त विदेशीहरु आफ्नो कार्यालयमा आउने भएपछि माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका तस्वीरहरु हटाउने र हसिया—हथौडा अंकित झण्डा लुकाउने काम धेरै पहिले गरिसकेका छन् । तर नेपालमा साम्यवादी दलको लोकप्रियता लुट्न कतिपय नक्कलीहरुले आफ्नो दलको नाम साम्यवादी नै राखेका छन् । यो वास्तवमा सरासर जनताप्रति धोका र बैमानी हो । हामी ती माक्र्सवाद पुरानो भयो भन्ने संशोधनवादीहरुलाई प्रश्न गर्न, चाहन्छौ : यदि माक्र्सवाद पुरानो भएको हो भने कुन कुन सिद्धान्तहरु र कुन—कुन विधिहरु पुराना भएका हुन् ? यदि माक्र्सवाद पुरानो भएको हो भने यसको प्रतिस्थापन गर्न कुन–कुन सिद्धान्त र विधि यहाँहरुबाट विकास गरिएको छ त ? के जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादले यसको प्रतिस्थापन गर्न सक्दछ ? एकपटक सुन्ने धैर्यता गर्नुहोस महाशयहरु ! इतिहासको पुनरागमन नयाँ हुँदैन । बहुदलीय जनवाद भन्नु र बहुदलीय प्रजातन्त्र भन्नु एउटै कुरा होइन र ? कांग्रेसको बहुदलीय प्रजातन्त्र र एमालेको बहुदलीय जनवादमा कुनै भिन्नता छैन । बहुदलीय जनवाद वा बहुदलीय प्रजातन्त्रले कुनै जमानामा प्रगतिशील भूमिका खेलेका छन् । तर यी दुवै सिद्धान्त सारमा प्रतिक्रियावादी संसदवादको सेवामा जुटेका छन् । यी कुराको सत्यता हाम्रो जीवन व्यवहारले पुस्टि गरिसकेको छ । मदन भण्डारीले जनता झुक्याउन ल्याएको जवज र पुष्पकमल दाहालले ल्याएको एक्काइसौं शताब्दीमा जनवादको विकास फरक–फरक रुपमा दलाल संसदीय व्यवस्थाको सेवा हो ।
माक्र्सवाद पुरानो भएको होइन महाशयहरु ! यो त लेनिनले भने झैं “…हरेकपल्ट अधिकृत विज्ञानद्वारा ‘समूल नष्ट’ पारिएको भनेपछि पनि अझ शक्तिशाली, अझ बढी जोडदार र अझ बढी ओजस्वी पो बनेको छ” – माकर््सवाद र संशोधनवाद, १९०८, प्रगति प्रकाशन मास्कोद्वारा प्रकाशित लेनिन संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ १५, पृ. ३१ ।
नेपालमा पनि प्रतिक्रियावादीहरु र संशोधनवादीहरुले माक्र्सवाद र साम्यवादी क्रान्ति पुरानो भइसकेको, असफल भइसकेको र उदार प्रजातन्त्रको विकल्प नभएको घोषणा गरे पनि माक्र्सवाद अझ बलवान, शक्तिशाली र जाज्वल्यताका साथ जनताहरुका बीचमा लोकप्रिय भइरहेको छ । माकर््सवादी विज्ञानका बारेमा लेखिएका रचनाहरुलाई ‘थोत्रा किताब’ ठान्ने नेताहरुले महाभारत,वेद,उपनिषद,कुरान, त्रिपिटक र बाइबललाई ‘नयाँ किताब’ भनी चितवनको ठोरीमा पौराणिक पात्र राम र सीताको मन्दिर बनाउन सरकारी बजेट खन्याउनु, पशुपतिनाथको मन्दिरमा सुनको जलहरी चढाउनु र क्रिश्चियन गुरुको हातबाट ‘पवित्र जाँडपान’ गर्नुले हाँसोको पर्रा बाहेक के छुट्न सक्छ र ! ‘माक्र्सवाद पुरानो भन्ने नेताहरुले हात हेराउनु, भैसी पूजा गर्नु, महाकालेश्वरको पूजा गर्नु, प्रधानमन्त्री भएको भोलिपल्ट दक्षिकालीमा गएर कालो बोको चढाउनु र जीवनरक्षाका लागि हातमा कालो फलामको औंठी लगाउनु माक्र्सवाद भन्दा कति नयाँ कुरा हो त !
साम्यवादी दर्शन भनेको भौतिकवाद हो भने यसको विधि भनेको द्वन्द्ववाद र ऐतिहासिकता हो । त्यस कारण भौतिकवादी दर्शनको पढ्ने विधि द्वन्द्ववाद र ऐतिहासिकलाई वैज्ञानिक ढंगले समायोजन गर्दा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हुन्छ । ऐतिहासिक भौतिकवादी दृष्टिकोण बाट आजको विश्वलाई संश्लेषण गरी द्वन्द्ववादी ढंगले विश्लेषण गर्ने हो भने वैज्ञानिक साम्यवाद मानव जातिको सबभन्दा उन्नत, जनतान्त्रिक र मानवतावादी व्यवस्था हो । उत्पादन प्रणालीमा आएको फेरबदल– विकेन्द्रीत उत्पादन र केन्द्रीकृत वितरण, अति केन्द्रीकरण तथा अति एकाधिकार, राजनीतिमाथि अर्थतन्त्रको प्रभुत्व, उत्पादक शक्तिमा विज्ञान र प्रविधिको समायोजन, भूमण्लीकरण र निगमीकरणको तीव्रता आदिले आज वैज्ञानिक साम्यवादलाई धेरै नजिक ल्याएको छ । यी विशेषताहरुले पुँजीपति झन् मुट्ठीभर हुनपुगेको छ भने शोषित र उत्पीडितवर्ग ९९ प्रतिशत हुन पुगेको छ । तर माक्र्सले भनुभए जस्तै ‘संख्या तब निर्णायक हुन्छ जब जनसाधारण संगठनमा आबद्ध हुन्छन् र ज्ञानले तिनको नेतृत्त्व गर्दछ ।’ संगठित र ज्ञानी नभइकन ९९ प्रतिशतलेले १ प्रतिशतलाई पनि जित्न सकिदो रहेनछ । माक्र्सवादी संगठन र ज्ञान नभइकन ९९प्रतिशतको मुक्ति असंभव छ ।
आज साम्यवादी दलहरुसँग आबद्ध साम्यवादीहरु निराश भएका छन् । यसको कारण हो, अनुशासित भएर संगठनमा आबद्ध नहुनु र माक्र्सवादको अध्ययन गरी त्यो ज्ञानद्वारा आलोकित हुन नसक्नु । जब एउटा साम्यवादी अनुशासित भएर संगठनमा आबद्ध भई मालेमावादी ज्ञानले सुसज्जित हुन्छ तब निर्विकल्प भावी साम्यवाद प्रति आशावादी र विजयप्रति ढुक्क हुन्छ । तर त्यसको लागि मौलिक माक्र्सवाद र वर्तमान परिस्थितिको अध्ययनमा तल्लिन भई आफै भित्र साम्यवादी क्रान्तिप्रति प्रतिबद्धता जाहेर गर्दै धैर्यतापूर्वक गतिवान कदम चाल्नु आवश्यक हुन्छ । यो अरुलाई उपदेश होइन, आफ्नो विरुद्धको क्रान्ति उद्घोषण हो । निश्चय नै भौतिक जगतले आत्मगत जगतलाई प्रभाव पार्दछ । अर्थात, माक्र्सले भने झै अर्थात, माक्र्सले भने झै मानिसको चेतनाले सामाजिक अस्तित्व निर्धारण गर्दैन, बरु सामाजिक अस्तित्वले मानिसको चेतना निर्धारण गर्दछ ।’ त्यसकारण हामी साम्यवादीहरुले परिवार र आफु वसेको संगठनलाई भावी साम्यवादको लागि सामाजिक इकाई बनाउनु पर्दछ । त्यसमा नयाँ विचारधारा, नयाँ सस्कृति, नयाँ बानीवेहोरा, नयाँ रीतिरिवाज र नयाँ विरासतको कली फुटाउनुपर्दछ । पुरानो समाजका विरुद्ध यो नयाँ समाज एउटा बिकल्प बन्दछ । यो विग्रने र भत्कने क्रममा नै निरन्तर क्रान्ति हुन्छ । एकदिन साम्यवाद आउछ । भन्ने साम्यवादी दल र साम्यवादी व्यवस्था, बनाउने पुँजीवादी दल र गर्ने पुँजीवादी व्यवस्थाको अभ्यास, अनि कसरी आउछ बैज्ञानिक साम्यवाद ? यही कुरालाई बुझ्यौ र पुँजीवादी व्यवस्थाको स्थानमा साम्यवादलाई जीवन व्यहारमा साम्यवाद नआएपनि वैज्ञानिक समाजवाद हाम्रै पालामा आउछ र साम्यवादको गति तीव्र बन्दछ ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस