इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा मित्रलाल पंज्ञानी,सदस्य सचिवमा मोदनाथ मरहट्टा निर्वाचित

काठमाडौं : इच्छुक सांस्कृतिक प्रतिष्ठानको रिक्त अध्यक्ष पदमा मित्रलाला पंज्ञानीलाई चयन गरेको छ । यही माघ १४ गते बसेको इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यसमितिको बैठकले पंज्ञानीलाई अध्यक्षमा चयन गरेको हो । प्रतिष्ठानका अध्यक्ष प्रा.डा.ताराकान्त पाण्डेयको गत पुस २७ गते दाङको भालुबाङमा भएको बस दुर्घटनामा परि निधन भएपछि अध्यक्ष पद रिक्त हुन पुगेको थियो ।

प्रगतिवादी कवि तथा निबन्धकार पंज्ञानी सो प्रतिष्ठानको सदस्यसचिव पदमा कार्यरत हुनुहुन्थ्यो । पंज्ञानीलाई अध्यक्षमा चयन गरेपछि खाली भएको सदस्यसचिवमा प्रतिष्ठानकै कार्यसमिति सदस्य समेत रहनु भएका अर्का कवि तथा निबन्धकार मोदनाथ मरहट्टालाई चयन गरिएको सो प्रतिष्ठानका सदस्य हिरामणि दु:खीले मुलबाटो अनलाईनलाई बताउनु भयो ।

अध्यक्ष पंज्ञानी तथा सदस्यसचिव मरहट्टा दुबै जना तीसको दशकदेखि निरन्तर प्रगतिवादी साहित्य लेखनमा क्रियाशील हुनुहुन्छ । संयोग नै भन्नुपर्छ कि दुवै स्रष्टा नेपालको प्रगतिवादी साहित्यका क्षेत्रमा कविता र निबन्धकारका रुपमा स्थापित हुनुहुन्छ ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस