काठमाडौं : आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको छ महिनामा डिजेल आयात १८ प्रतिशतले घटेकाे छ ।
निगमकानुसार विकास निर्माणको काम सुस्त हुनुका साथै विद्युतीय गाडीको प्रयोगले डिजेलको खपतमा कमी आएको हाे । बजारमा माग कम हुँदा आयातमा समेत कमी आएको हाे ।
गत वर्षदेखि आर्थिक सङ्कटका कारण तीव्र गतिमा काम हुन सकेको छैन जस्ले गर्दा पनि डिजेलको खपतमा कमी आएको हो । विशेष गरी डिजेल विकास निर्माण, औद्योगिक क्षेत्र, मालवाहक र ठुला सवारी साधनमा बढी प्रयोग हुने गर्छ । औद्योगिक क्षेत्रमा २५ देखि ३० प्रतिशतले डिजेल खपत हुने गरेको छ । सामान्य अवस्थामा एक लाख ४० हजार किलोलिटर डिजेल खपत हुने गरेकोमा हाल घटेर मासिक ९४ हजार ४०५ किलोलिटरमा झरेको छ ।
हाल बजारमा पेट्रोल प्रतिलिटर १६३, डिजेल प्रतिलिटर १५५ हवाई इन्धन प्रतिलिटर १३० रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार ८९५ रुपियाँ रहेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्थानीय बजारमा समेत मूल्य घटेको छ ।