अनुचित कार्यमा संलग्न सबैलाई अखिल(क्रान्तिकारी)ले कार्वाही गर्ने घाेषणा

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) केन्द्रीय समितिले हिजो एक विज्ञप्ति जारी गर्दै अनुचित कार्यमा संलग्न सबैलाई कार्वाही गर्ने घाेषणा गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट उक्त संगठनले जारि गरेको विज्ञप्ति जस्ताको त्यस्तै पढ्नुहाेस् तल

“सिटिइभिटीका सम्बन्धन तथा गुणस्तरका सम्बन्धमा पुर्व शिक्षामन्त्री तथा सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा गठित उपसमितिकोको २०८० पुस २५ गतेको निर्णय भन्दै १ सय बेडको अस्पताल नभएर ३ बर्षअघि बन्द भइसकेका नर्सिङ कलेजमा पुनः पठनपाठन सञ्चालन गर्न भनी चिकित्सा शिक्षा ऐन, २०७५ विपरीत हुने गरि प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई दिएको निर्देशनले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले दिएको कथित निर्देशनका सम्बन्धमा समितिकै सांसदहरूले आधिकारिक निर्णय नभएको र समितिका सभापति भानुभक्त जोशी, पूर्व शिक्षामन्त्री तथा उपसमिति संयोजक लगायतका केही सांसदहरु कलेज सञ्चालकको प्रलोभनमा परेर त्यस्ता निर्देशन जारी गरेको लगायतका विषय सार्वजनिक रूपमा बोल्नु र ऐन विपरीत निर्देशन गर्नुले गम्भीर आशंका उत्पन्न भएको छ । उपसमितिका संयोजक देवेन्द्र पौडेल शिक्षामन्त्री भएको बेला CTEVT का उपाध्यक्ष र तत्कालीन सदस्य सचिव सँगको मिलेमतोमा बन्द भएका CTEVT बाट सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरूलाई आर्थिक लेनदेनको आधारमा ऐन विपरीत भर्ना गर्न दिने प्रयास गरेको व्यापक चर्चा थियो । चिकित्सा शिक्षा आयोगले विरोध गरेपछि रोकेको उक्त कार्य अहिले संसदीय समिति मार्फत लाद्न खोजिएको हो कि भन्ने गम्भीर आशंका उत्पन्न हुन्छ । यस्तै घटना र भ्रष्टाचारको विषयले आज CTEVT बद्नाम छ, जसका कारण इमानदार कर्मचारीहरू प्रताडित हुनुपरिरहेको छ। छलफल गर्नुपर्ने र समाधान दिनुपर्ने धेरै विषयहरू छन् तर नर्सिङ कलेज सञ्चालनकै विषयमा मात्र सार्वजनिक पद धारण गरेकाहरूले यति धेरै मरिहत्ते गर्नुले गम्भीर प्रश्नहरू उब्जिएका छन् ।

हाम्रो संगठन विद्यार्थीले आफ्नो इच्छा र योग्यता अनुसार पढ्न पाउनुपर्छ भन्ने विषयमा प्रतिबद्ध छ तर स्वार्थ समूह र व्यक्तिको स्वार्थमा आर्थिक चलखेल अथवा पदीय दुरूपयोगका आधारमा हुने जुनसुकै निर्णयको विरोध गर्दछ । ऐन विपरीत कलेज सञ्चालक र गिरोहको दबाब र प्रलोभनमा प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको निर्देशनको घोर भर्त्सना गर्दछ साथै उक्त निर्देश कार्यान्वयन नगर्न सम्बन्धित निकायहरूलाई अनुरोध गर्दैछौ । अन्यथा हामी कडा संघर्ष गर्न बाध्य हुनुका साथै अनुचित कार्यमा संलग्न सबैलाई हाम्रो संगठनले कार्वाही गर्ने समेत जानकारी गराउँदछौ ।

क्रान्तिकारी अभिवादन सहित ।”

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस