कोदो धान र मकै भन्दा झन्डै दोब्बर अाम्दानि हुन थालेपछि किसान दङ्ग

काठमाडौं : कोदोले पछिल्लो समयमा धान र मकैभन्दा झन्डै दोब्बर मूल्य पाउन थालेपछि सिन्धुली जिल्लाका किसान दङ्ग छन। सिन्धुली जिल्लामा केही वर्ष पहिलेसम्म हेपाइको बालीमा पर्ने कोदो खेतीबाट पछिल्लो समयमा अन्य बाली धान, मकै र गहुँको तुलामा झन्डै दोब्बरले आम्दानी हुन थालेपछि किसान कोदो खेतीप्रति आकर्षित बनेका हुन् ।

अहिले जति कोदो फलाए पनि व्यापारीले घरमै आएर राम्रो मूल्य दिएर खरिद गरी लैजाने गरेका छन । घरेलु मदिरा र ढिँडोका लागि कोदोको माग बढी हुन थालेपछि किसान उक्त खेतीप्रति आकर्षित हुन थालेका हुन् । व्यापारीले घरेलु मदिरा बनाउन र बिपी राजमार्गमा खुलेका होटलले ढिँडो बनाई बिक्री गर्न कोदो लैजाने गरेको उहाँले सुनाउनुभयो ।

किसानका अनुसार अहिले कोदो प्रतिपाथी दुई सय रुपियाँसम्ममा बिक्री हुने गरेको छ तर धान र मकैको मूल्य भने प्रतिपाथी मुस्किलले एक सय रुपियाँ रहेको छ । बढ्दो मागकै कारण कोदोको भाउ चुलिँदै गएको छ । गोलन्जोर गाउँपालिका–५ निवासी किसान तेजबहादुर मगर यो वर्ष आफूले छ मुरी कोदो बिक्री गरिसकेको बताउनुहुन्छ । धान र मकैको तुलनामा कोदो खेती किसानको रोजाइमा पर्दै गएको उहाँको भनाइ छ ।

होटल सञ्चालकका अनुसार घरेलु मदिराका लागि कोदो सबैभन्दा उत्तम मानिन्छ । घरेलु रक्सी, तोङ्वा, निगार, जा“डलगायतका मदिराका परिकार कोदोबाट बनाउने चलन छ । अन्य अन्न मकै, चामलभन्दा कोदोको मदिराका परिकारले ग्राहक तानेको छ ।

जुनारको राजधानी भनेर चिनिने गोलन्जोर गाउ“पालिका–४, तीनकन्याका किसानले त जुनार बगैँचाभित्र समेत कोदो खेती गरेर दोहोरो आम्दानी लिएका छन् । केही वर्ष अघिसम्म कोदो बालीलाई तल्लोस्तरको खेतीका रूपमा लिइन्थ्यो । उत्पादन भएको कोदो बिक्री नभएपछि गाईवस्तु तथा सुं“गुरलाई खोले बनाएर खुवाउने चलन थियो । यतिखेर उत्पादन भएको कोदो कतै बिक्री गर्न लैजान पर्दैन बारीमा नै ग्राहक आएर पहिला नै बैना मार्ने चलन बसिसक्यो ।

एक रोपनीमा सरदर चार मुरी कोदो उत्पादन हुने गरेको छ । सिन्धुली जिल्लामा तीनकन्या, रतनचुरा, बासेश्वर, भुवनेश्वरी, बितिजोर, डुडभन्ज्याङलगायतका ठाउँमा कोदो खेती हुने गरेको छ तथा बर्सेनि झन्डै १२ हजार हेक्टर जमिनमा कोदो खेती हुँदै आएको र १० हजार मेट्रिक टनभन्दा बढी उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस