सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडाैँ : उच्च अदालत,पाटनले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत,पाटनका न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेल इजलासले शुक्रबार मुद्दाको अन्तिम किनारा नलागेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्यवन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

काठमाडौँ महानगरले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । साथै महानगरले सार्वजनिक स्थलमा ध्रम्रपान निषेध गरेको थियो भने, सार्वजनिक स्थानको १०० मिटर वरपर धुमपान गरे १०० रुपैयाँ जरिवाना गर्ने निर्णय समेत गरेको थियो

आदेशमा भनिएको छ, ‘निवेदकहरूले रितपूर्वक उद्योग व्यवसाय सञ्चालन गरी कर तथा राजश्वसमेत नियमित तिर्दै बुझाउँदै आएको अवस्थामा काठमाडौँ महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ एवं काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन, २०५० को दफा ४२ लाई आधार मानी निवेदकहरूको बिक्री वितरण समेतमा पूर्ण प्रतिबन्ध लगाइएको छ भन्ने सूचनाले निवेदकहरुले कानुनबमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति पुग्नसक्ने अवस्था देखिएको हुँदा यसमा सुविधा सन्तुलन निवेदकहरूको पक्षमा विचारणीय देखिँदा काठमाडौं महानगरको २०८०/०८/१२ मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न नगराउनु भनि विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस