क्रान्तिकारी कम्युनिस्ट पार्टीले साम्राज्यवादी विस्तारवादी हस्तक्षेप विरुद्ध संघर्ष गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टीले महाधिवेशनलाई लक्षित गर्दै संघर्षका कार्यक्रमहरु समेत तय गरेको छ । हालै सम्पन्न आयोजक समितिको बैठकको स्प्रिट अनुसार पार्टीको कार्यालय बैठकले स्थानीय मुद्दाहरु उठाएर प्रदेश पार्टीको नेतृत्वका जिल्ला, नगर, गाउँ समितिहरुले संघर्षका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय स्तरमा जनताका मुद्दाहरुलाई लिएर संघर्ष गर्ने, स्थानीय कार्यक्रमहरुमा संसदीय व्यवस्थाको भण्डाफोर, राष्ट्रघाती एमसीसी, भ्रष्टाचार, महंगी, मिटरब्याजी शोषण, बेरोजगारी, लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता लगायत नेपाली भूभागमा गरिएको भारतीय हस्तक्षेप जस्ता मुद्दाहरु उठाउने निर्णय गरेको छ । त्यसैगरी संसदीय व्यवस्थाको भण्डाफोर गर्दा खाद्य सम्प्रभुता, मल, बीउ, कृषि बजारको सुनिश्चितता, सुलभ मूल्यको व्यवस्था, महँगी भ्रष्टाचार, कालोवजारी, मानव बेचबिखन, नक्कली शरणार्थी, राष्ट्रिय उद्योग बन्द, नदीनाला बेचबिखन, राष्ट्रिय पुँजीको संरक्षण, वित्तीय लुटपाट, बैङ्कहरूको सुदखोरीलगायतका विषय सहित पुँजीवादी उत्पादन सम्बन्धको भण्डाफोर गर्ने पनि स्रोतले जनाएको छ । कार्यक्रममा नेपाली संस्कृतिमाथिको साम्राज्यवादी÷विस्तारवादी हस्तक्षेपको पनि विरोध गर्ने बताइएको छ ।

बैठकले सबै जिल्ला सदरमुकामहरुमा प्रदर्शन, अन्तरक्रिया, छलफल कार्यक्रमहरु गर्ने, राष्ट्रघाती एमसीसी विरुद्ध प्रतिरोध कार्यक्रमहरु गर्ने पनि निर्णय गरेको छ ।

बैठकले पहिलो चरणको संघर्षको कार्यक्रम अन्तर्गत कात्तिक भरि प्रचारात्मक कार्यक्रम गर्ने -भित्ते लेखन, पर्चा वितरण, पोष्टर टाँस्ने र मंसिर १ देखि पुस १५ सम्म अन्तरक्रियात्मक, प्रचारात्मक, प्रतिरोधात्मक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशहरुमा अन्तरक्रियात्मक कार्यक्रमहरुको समय तालिका समेत ठोस गरेको छ । जसमा मंसिर १ अन्तरक्रिया प्रदेश १, मंसिर ५ अन्तरक्रिया प्रदेश २, मंसिर ८ अन्तरक्रिया प्रदेश ३, मंसिर १४ अन्तरक्रिया प्रदेश ४, मंसिर १८ अन्तरक्रिया प्रदेश ५, मंसिर २१ अन्तरक्रिया प्रदेश ६ र मंसिर २५ अन्तरक्रिया प्रदेश ७ को समय ठोस गरिएको छ ।

बैठकले पुुस १ देखि पुस १५ सम्मको अवधिलाई एमसीसी विरुद्धको प्रतिरोधमा लैजाने निर्णय गरेको छ । साथै, पुस १० गते माओ दिवस भव्य रुपमा काठमाडौमा मनाउने जसमा युवाहरुको नेतृत्वमा हजारौ युवाहरुको प्रदर्शन गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस