०८० कात्तिक १२,काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।