काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टीले आज एमसीसी परियोजना खारेजीको माग गर्दै विरोध जुलुससहितको प्रदर्शन गर्दैछ । १२ बजे रत्नपार्क शान्तिबाटिकामा जम्मा भई पुरानो बसपार्क, भद्रकाली, सुन्धरा, सहिद गेट, वायुसेवा निगम, न्युरोड, विशालबजार, इन्द्रचोक, असन, भोटाहिटी हुँदै रत्नपार्क शान्तिबाटिकासम्म जुलुस प्रदर्शन गरिने सम्बद्ध स्रोतले जानकारी दिएको छ । मशाल जुलुसपछि आयोजित विरोधसभालाई पार्टीका शीर्ष नेतृत्वहरुले सम्बोधन गर्नुहुने छ ।
भदौं १४ बाट कार्यान्वयन गर्न लागिएको एमसीसी परियोजनाको खारेजीको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले यसअघि वक्तव्य समेत जारी गरेको थियो र मंगलबार उपत्यकामा राजनीतिक बिट हेर्ने मूलधारका मिडियाका पत्रकारहरुसँग विशेष अन्तरक्रिया कार्यक्रमको समेत गरेको थियो ।
पत्रकारहरुसँगको अन्तरक्रियामा पार्टीका शीर्ष नेतृत्वहरु सिपी गजृुरेल र धर्मेन्द्र बास्तोलाले एमसीसी परियोजना देश र जनताको हितमा नरहेकोले यसको कार्यान्वयन होइन, पूर्ण रुपले खारेज गरिनुपर्ने धारणा राख्नुभएको थियो ।