
काठमाडौं : भाकपा (माओवादी) निकट सांस्कृतिक आन्दोलनका नेता गदरको मृत्युप्रति अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिद्वारा श्रद्धाञ्जली व्यक्त गरिएको छ । महासङ्घका केन्द्रीय संयोजक हिरामणि दुःखीद्वारा जारी वक्तव्यमा भनिएको छ– ‘भाकपा (माओवादी) निकट सांस्कृतिक आन्दोलनका नेता गदर (गुम्मदी विट्ठल राव)को यही ६ अगस्त २०२३का दिन एपोलो अस्पतालमा उपचारकै क्रममा असामयिक निधन भयो । उहाँ विगत केही वर्षदेखि मुटु रोगबाट पीडित भई उपचारका क्रममा हुनुहुन्थ्यो । उहाँको निधनबाट हाम्रो सांस्कृतिक सङ्गठन स्तब्ध एवम् दुःखीत भएको छ । कमरेड गदरप्रति हाम्रो सङ्गठन भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।’
गदर भारतमा भएको जनवादी क्रान्तिका पक्षधर थिए । उनी पाँच दशकदेखि भारतीय कम्युनिस्ट पार्टीको क्रान्तिकारी धारामा जोडिएर साहित्यिक–साङ्गीतिक आन्दोलनको नेतृत्व गर्दै आएका थिए ।
सन् १९४९ मा तेलाङ्गनामा जन्मिएका गदरले भारतका कुनाकुनासम्म गीत–सङ्गीत तथा साहित्यका माध्यमबाट उत्पीडित वर्गका जनातालाई उत्प्रेरणा दिँदै आएका थिए ।
जनसांस्कृतिक महासङ्घद्वारा जारी वक्तव्यमा ‘क्रान्तिकारी लोक गायक गदरको मृत्युले भारतको कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा मात्र नभई नेपालको क्रान्तिकारी आन्दोलनमा पनि अपूरणीय क्षति भएको’ जनाइएको छ ।
गदरसँग जनयुद्धका क्रममासमेत आफ्नो सङ्गठन अन्तरगतको केन्द्रीय साङ्गीतिक टोली सामना परिवारसँग जोडिएर भारतका विभिन्न स्थानहरूमा सांस्कृतिक आन्दोलनमा सहकार्य गरेको इतिहास स्मरणीय रहेको वक्तव्यमा उल्लेख गरिएको छ । उनको कला प्रस्तुति शैली अत्यन्तै सरल र सहज भएको जनाउँदै त्यसबाट प्रेरणा लिनेहरूका लागि एक शिक्षा भएको जनाइएको छ । उनको मृत्युमा भारतका गैरकम्युनिस्टहरूले पनि दुःख व्यक्त गरेको कुरा भारतीय मिडियाहरूले जनाएका छन् ।