गण्डक बाधका ढोका खोलियो,कर्णाली र महाकालीमा बढ्यो बहाव सर्तकता अपनाउन अनुरोध

नारायणी नदीमा पानीको अत्यधिक बहाव बढेपछि गण्डक ब्यारेजका पनि ३६ वटै ढोका खोलिएको छ । त्यस्तै नारायणी नदीमा पानीको बहाव बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो ।पानीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी अमित खड्काले जानकारी दिए । ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको खड्काले जानकारी दिए ।

ब्यारेजका संरचना निकै नै पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिन्छ । नारायणी नदीको नारायणगढ पुलमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । ११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह रहेको छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रहरी प्रशासनलाई सम्भावित दुर्घटनाका लागि जिल्लामा तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जनाएका छन् । यसैबीच, कोशी, नारायणी, कर्णाली, बबई, महाकाली र यसका सहायक नदीको किनारामा बसोबास गर्ने नागरिकहरुलाई उच्च सतर्कता अपनाउन सरकारी निकायहरुले सार्वजनिक सूचना समेत जारी गरेका छन् ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस