काठमाडौं महानगरविरुद्ध ‘गरिब होइन गरिबी हटाउ’ भन्दै प्रदर्शन

श्रावण १३, काठमाडौं : फुटपाथ व्यवसायीलगायतमाथि भएको धरपकड नरोकिएको भन्दै काठमाडौं महानगरपालिका विरुद्ध नाराबाजी भएको छ । फुटपाथ व्यवसायी, साइकल तथा ठेलागाडा व्यापारी, मजदुर तथा साना व्यवसायीको पक्षमा राष्ट्रिय सभा गृह अगाडि नारा लगाइएको हो ।

बृहत् नागरिक आन्दोलन र स्वतन्त्र युवाहरूको समूहले काठमाडौं महानगरपालिकाको गैर न्यायिक धरपकडको विरोध गर्दै साना व्यवसायीको पक्षमा विरोध कार्यक्रमको आयोजना गरिएको जनाएको छ । उनीहरुको सम्मानजनक व्यवस्थापनका लागि आयोजित विरोध कार्यक्रममा बृहत नागरिक आन्दोलन समितिले कार्यक्रम राखेको हो ।

विरोध कार्यक्रममा समितिका संयोजक सञ्जीव उप्रेती, स्वतन्त्र युवाहरु भुवन राउत, विनोद देउवालगायत झण्डै चार दर्जनको सहभागिता थियो । सहभागीहरुले गरि खान देउ महानगर, प्रहरी दमन बन्द गर, गरिब होइन गरिबी हटाउ, मानवता, समानुभूति र जवाफदेहिता नभएको नेतृत्वलगायत नारा लगाएका थिए ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस