साउन १२,काठमाडौं : अखिल(क्रान्तिकारी) ले रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा तालाबन्दी गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन अखिल (क्रान्तिकारी) ले मंगलबार आरआर क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
संगठनका केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका इकाई संयोजक सर्जन पाण्डेले आफ्नो संगठनले क्याम्पस प्रशासनसंग विभिन्न चरणमा छलफल गर्दा समेत विद्यार्थी संग सम्बन्धित मागहरुको बिषयमा सुनुवाइ नभएको भन्दै तालाबन्दी गरेको बताएका छन् । उनले २०८० असार २४ गते क्याम्पसले निकालेको छात्रवृत्ति सम्बन्धि सूचना निकालेको र उक्त सूचना नेपालको संविधान बमोजिम समानुपातिक समावेशी सिद्धान्त विपरित गरिएको बिषयमा संगठनले ध्यानाकर्षण गराएको र त्यो बेवास्ता गर्दै छात्रवृत्ति सम्बन्धि निर्णयमा कुनै सुधार नगरिएपछि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको बताए ।
संगठनले समावेशी सिद्धान्त वमोजिम छात्रवृत्तिको समन्यायिक वितरण गर्न, आन्तरीक मुल्यांकनको नतिजा सार्वजनिक गर्न, शैक्षिक क्यालेन्डर तयार गरि लागु गर्न माग गरेको छ । विद्यार्थी संग सम्बन्धित जायज मागहरुको बिषयमा तत्काल सम्बोधन गर्न क्याम्पस प्रशासन तयार नभए संगठन थप संघर्ष गर्न बाध्य हुने समेत नेता पाण्डेले बताए । उक्त संगठनले श्रावण २ गते क्याम्पस प्रमुखले प्रयोग गर्ने शौचालयमा समेत ताला लगाएको थियो ।