
साउन १२, धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगी संक्रमणका कारण पछिल्लो नौ दिनयता एक बालिकासहित थप ५ जनाको मृत्यु भएको छ । डेंगी संक्रमणबाट साउन ३ गते धरान–५ देउराली बस्ने ५३ वर्षीया महिला, साउन ७ गते धरान–१० बस्ने ५६ वर्षीय पुरुष, धरान–२ बस्ने ७७ वर्षीय वृद्ध, साउन १० गते उदयपुरको कटारी बस्ने २९ वर्षीय पुरुष र साउन ११ गते धरान ११ बस्ने १० वर्षीया बालिकाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलका अनुसार उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । तीमध्ये उदयपुरको कटारी बस्ने पुरुषको हिप ज्वाइन्टको शल्यक्रिया पछि ज्वरो आएर जाँच गर्दा डेंगी पोजिटिभ देखिएको थियो । यसअघि धरानका ४ जनाको मृत्यु भएको थियो ।
प्रतिष्ठानको डेंगी अस्पतालमा हालसम्म ५४ जना उपचारका लागि भर्ना भएका थिए । तीमध्ये ३७ जनालाई डिस्चार्ज दिइएको सहप्रवक्ता डा पोखरेलले बताए । उनका अनुसार डेंगी संक्रमण भएर उपचारका लागि आउने बिरामी डेंगी क्लिनिक र बीपी प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सीमा चाप दिनदिनै बढेको छ । डेंगी क्लिनिकमा हालसम्म १ हजार ६ सय १६ जनाको जाँच गर्दा १ हजार २ सय ९८ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । बिहीबार मात्र १ सय ४९ जनाको जाँच गर्दा १ सय १७ जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । १ सय १७ जना संक्रमितमध्ये प्रतिष्ठानका चिकित्सक, नर्स र कर्मचारी १५ जना अर्थात् करिब १० प्रतिशतमा डेगी पोजिटिभ देखिएको डा पोखरेलले बताए ।
यसैबीच डेंगी नियन्त्रण गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनका विज्ञ जनस्वास्थ्यविद्, चिकित्सकसहित फेयर मेड नेपाल, सेभ द अर्थ, उपमहानगरपालिकाका टिएलओ (टोल समिति) जनप्रतिनिधिहरु र उपमहानगरको स्वास्थ्य महाशाखा सम्मिलित टोलीले सर्च एन्ड डेस्ट्रोय अभियानलाई तीव्र बनाएको दाबी गरेका छन् ।