
काठमाडौँ : नेपालको उत्तरी छिमेकबाट चीनबाट चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्य समेत युआन च्या च्युन तीन दिने नेपाल भ्रमण क्रममा आइतबार काठमाडौं आइपुगेका छन् । दक्षिण एसियाका मुलुकहरुको भ्रमणमा रहेका उनी श्रीलंकाको भ्रमण सकेर नेपाल आएका हुन् ।
गत पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि यो चीनबाट हुन लागेको उच्चस्तरको भ्रमण हो । युआन चीनको चर्चित, ठूलो र शक्तिशाली सहरहरु मध्येको एक छोङछिङ सहरको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका हुन् । युआन छोङछिङ नगर कमिटीमा सीपीसीका सचिव हुन् । सचिव उक्त सहरको पार्टी प्रमुख हुने प्रावधान छ ।
चिनियाँ नेता युआनले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई साउन ७ मा भेट्ने कार्यक्रम रहे पनि दाहाल शनिबारै इटाली लागे । युआनको भ्रमणको बारेमा प्रधानमन्त्री दाहाललाई दुई साता अघि नै जानकारी दिइएको थियो । तर प्रधानमन्त्री दाहालले त्यो बीचमा इटालीको भ्रमण गर्ने निर्णय गरे । आइतबार युआनलाई भेटेर इटाली निस्कने गृहकार्य भएको थियो,’ कुटनीतिक स्रोतले भन्यो,‘तर प्रधानमन्त्री दाहाल युआनलाई नभेटिकन एक दिन अगाडि नै रोम उडे ।’
अब युआनले माओवादीका उपाध्यक्ष तथा गृहमन्त्री समेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पार्टीका अन्य नेताहरुसग भेटवार्ता गर्नेछन् । दाहाल साउन ११ मा नेपाल फर्कने छन्, जुन दिनसम्म युआन नेपालबाट फर्किरहेका हुनेछन् ।
सीपीसीका नेता युआनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न पार्टीका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । पूर्वप्रधानमन्त्रीहरु ओली र नेपाल मुलुक बाहिर रहे पनि उनीहरु सोमबारसम्म फर्किसक्नेछन् ।
भेटवार्ताको विषयलाई लिएर नेपालस्थित चिनियाँ दुतावास, परराष्ट्र मन्त्रालय र राजनीतिक दलहरु बीच गृहकार्य गरेको हो । भ्रमणका दौरान प्रधानमन्त्री दाहालको चीन भ्रमणको बारेमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री दाहाल भदौंको अन्त्यमा चीन भ्रमण जाने गृहकार्य गरे पनि सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा गएपछि मात्र हुनेछ । किनकी दाहालले छिटो चीन भ्रमणको आकांक्षा राखेपनि चीनले उनलाई भ्रमणको निम्तो दिएको छैन ।
आइतबार नेपाल भ्रमणमा आएका युआन सीपीसीका २४ जना केन्द्रिय पोलिटब्यूरो सदस्य मध्ये एक सदस्य हुन् । ७ जनाको स्थायी कमिटीपछि दोस्रो तहको शक्तिशाली तहको रुपमा केन्द्रिय पोलिटब्यूरोलाई लिइन्छ । सीपीसीको सन् २०२२ मा भएको २० औ जनकंग्रेसले उनलाई उक्त जिम्मेवारी दिएको थियो । उनी यसअघि सीपीसीका केन्द्रीय सदस्य मात्र थिए । उनी राष्ट्रपति सी चिनफिङका विश्वाससिला पात्र हुन् ।