क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल झापाको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको १ नं. प्रदेश अन्तर्गतको झापा जिल्लाको सुरुङ्गामा एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार अधिवेशनले प्रशान्तको संयोजकत्वमा ४९ सदस्यीय झापा जिल्ला संगठन समिति चयन गरेको छ । अधिवेशनका प्रमुख अथिति पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा १ नं. प्रदेशका इन्चार्ज निर्मलले पार्टी केन्द्रको भाव संप्रेषण गर्दै प्रशिक्षणमूलक मन्तव्य राखेका छन । उनले क्रान्तिको कार्यभार पुरा गर्न क्रान्तिकारी पार्टी र जनसमुदायको बलियो एकता कायम हुनुपर्ने साथै अबको क्रान्तिको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्ने बताएका छन ।

कार्यक्रमका अथिति पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संयोजक सङ्कुलले संसदवादमा पतन भएका केही कम्युनिस्ट नामधारीहरुले देश र जनतालाई भ्रममा पारी धोका दिएको र इतिहासप्रति गद्दारी गरेर कम्युनिस्ट आन्दोलनलाई नै भ्रष्टीकरण गरिरहेको बताएका छन । वहाँले त्यस्ता बेइमान तथा गद्दार कम्युनिस्ट नामधारीहरुको सशक्त भण्डाफोर गर्दै तिनका सबैखाले कर्तुतहरुको चिरफार नगरी र जनतालाई नबुझाइकन परिस्थिति बदल्न नसकिने पनि बताए ।

कार्यक्रमका अथिति केन्द्रीय सचिवालय सदस्य तथा पार्टीका १ नं. प्रदेश सह–संयोजक नरेश, झापा जिल्ला संगठन समितिका इन्चार्ज विमल, केन्द्रीय सदस्य तथा १ नं. प्रदेश कार्यालय सचिव अनुपमलगाएतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन झुरेन्द्र पाण्डेले गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस