चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनले तीनदिने नेपाल भ्रमण अाउदै

काठमाडौँ : अमेरिकाका मध्य तथा दक्षिण एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेको एक सातामै उत्तरी छिमेक चीनबाट पनि उच्च तहको राजनीतिक भ्रमण हुने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युनले आइतबारदेखि तीनदिने भ्रमण गर्ने भएका छन् । गत पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि चीनबाट हुन लागेको यो उच्चस्तरको भ्रमण हो ।

युआन चीनका ठूलो र शक्तिशाली सहरहरूमध्ये एक छोङछिङ सहरको प्रतिनिधिमण्डललाई नेतृत्व गर्दै आइतबार काठमाडौं उत्रनेछन् । रकेट वैज्ञानिक युआन सीपीसीको छोङछिङ नगर कमिटीका सचिव हुन् । सचिव उक्त सहरको पार्टी प्रमुख हुने प्रावधान छ । युआन सीपीसीका २४ केन्द्रीय पोलिटब्युरो सदस्यमध्ये एक हुन् । ७ जनाको स्थायी कमिटीपछि दोस्रो तहको शक्तिशाली तहका रूपमा पोलिटब्युरोलाई लिइन्छ । सीपीसीको सन् २०२२ मा भएको २० औं जनकंग्रेसले युआनलाई पोलिटब्युरो सदस्यको जिम्मेवारी दिएको थियो । उनी त्यसअघि सीपीसीको केन्द्रीय सदस्य थिए । उनी राष्ट्रपति सी चिनफिङका विश्वासिला पात्र हुन् ।

चिनियाँ टोली श्रीलंका भ्रमण सकेर नेपाल उत्रन लागेको हो । युआनले नेपालमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सभामुख देवराज घिमिरेलाई पनि भेट्नेछन् । युआनले केही मन्त्री, नेतासँग पनि भेटवार्ता गर्न सक्ने परराष्ट्रका एक अधिकारीले बताए । भेटवार्ताको समन्वय गर्न नेपालस्थित चिनियाँ दूतावास, परराष्ट्र मन्त्रालय र राजनीतिक दलहरूबीच गृहकार्य भइरहेको छ ।

चीनले छिमेकी देशलाई उच्च प्राथमिकतामा राखेकै कारण यो भ्रमण हुन लागेको एक कूटनीतिकज्ञले बताए । ‘चीनले कोभिडपछि नेपालसँग मात्र होइन, अन्यसँगको सम्बन्धलाई पनि प्राथमिकता दिएको छ । चिनको उच्च तहबाट भ्रमण हुनुमा नेपालमा बेइजिङले देखाएको प्राथमिकता झल्कन्छ,’ उनले भने, ‘उच्च तहको भ्रमणबाट सम्बन्धलाई सुमधुर बनाउनुपर्छ ।’

युआनको भ्रमणमा प्रम दाहालको चीन भ्रमणबारे पनि छलफल हुन सक्ने बताइएको छ । प्रम दाहाल भदौ अन्त्यतिर चीन जाने गृहकार्यमा छन् । त्यसका लागि बेइजिङस्थित नेपाली दूतावास र परराष्ट्रले गृहकार्य गरिरहेका छन् । तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालले पहिलो विदेश भ्रमण भारतको गरिसकेका छन् । उनी ‘युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्ट’ का लागि साउन ७ मा इटाली जाँदै छन् । त्यसअघि दाहाल र युआनबीच भेटवार्ता हुनेछ ।

युआनको भ्रमणमा सीपीसी र नेपालका पार्टीहरूबीचको सम्बन्धका साथै बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० अन्तर्गतका परियोजना कार्यान्वयन र चीनले अघि सारेका अन्य इनिसिएटिभका बारेमा पनि छलफल हुनेछ । चीनका राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा अघि सारेको बीआरआई ९पहिले वन बेल्ट वन रोड० अन्तर्गतका कार्यक्रमलाई प्राथमिकता दिए पनि नेपालमा प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।

बेइजिङबाट यसअघि असार २७–३० मा सीपीसीको विदेश विभागको टोलीले नेपाल भ्रमण गरेको थियो । भ्रमणका क्रममा सीपीसी विदेश विभागका काउन्सिलर तु स्याउलिनले नेपाल र चीन मिलेर विकास गर्नुपर्ने बताएका थिए । भ्रमण दौरान आयोजित सेमिनारमा उनले ‘चिनियाँ विकास मोडल’ बारे प्रस्तुति दिँदै दुई मुलुकबीचको मित्रता लामो समयदेखि रहिआएको उल्लेख गरेका थिए ।

चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्की चीनले कोभिड–१९ महामारीका बेला पातलो रहेको चिनियाँ भ्रमणलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउँछन् । उनले चीनको महत्त्वपूर्ण प्रशासनिक क्षेत्र छोङछिङका गभर्नरसमेत रहेका युआनको नेपाल भ्रमण महत्त्वपूर्ण हुने बताए । ‘त्यस सहरका नेताहरूले चीनको नीतिगत तहमा बलियो प्रभाव पार्न सक्छन्,’ उनले भने, ‘युआन दुई मुलुकबीचको सम्बन्धलाई बुझ्न आउन लागेका हुन् । फर्केपछि माथिल्लो तहमा रिपोर्टिङ पनि गर्न सक्छन् ।’ चीनले पछिल्लो पटक केही सुधार गरेर ल्याएको विदेश नीतिमा छिमेकीलाई प्राथमिकतामा राखेकाले पनि उच्च तहमा भ्रमणहरू हुन लागेको पूर्वराजदूत कार्की बताउँछन् ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस