काठमाडौं ठमेलका गुण्डा नाईकेहरुलाई प्रहरीले हत्कडी लगाएर सडक डुलायाे

काठमाडौं : ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले हत्कडी लगाएर सडकमा डुलाएको छ । ठमेलमा व्यवसायीलाई कुटपिट गरेर दुःख दिएको आरोपमा पक्राउ परेका गुरुङलाई म्याद थप गर्न अदालत लगेर फर्काँउदा प्रहरीले हत्कडीसहित ठमेल क्षेत्रको सडकमा डुलाएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले चाहिँ प्रहरीको गाडी बिग्रिएकाले हिँडाएर लगिएको दाबी गरे । उनले भने, ‘प्रहरीको गाडी पुरानो छ, बाटोमा बिग्रिएकाले हुनसक्छ ।’ तर, प्रहरी वृत्त, लैनचौरका एक अधिकृतले ‘माथिको आदेश’ अनुसार नै हत्कडी लगाएर सडकमा हिँडाएको बताए ।

एसएसपी कार्कीले केहीअघि बैंकिङ कसूरका एक आरोपीलाई पनि हिँडाएर टेकुस्थित प्रहरी हिरासतसम्म लगेका थिए । कपिलवस्तुमा एसपी छँदा उनले ठगी आरोपका ईश्वरीप्रसाद पोखरेल भनिने गोपाल कामीलाई हत्कडीसहित बजारमा डुलाएका थिए । कामी हालै काठमाडौंमा फेरि ठगी आरोपमा पक्राउ परेपछि उनले सुध्रिएला बनेर हत्कडीसहित डुलाएपनि नसुध्रिएको बताएका थिए ।

प्रहरीले सानुभाइसँगै टोखाका बिक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङलाई पक्राउ गरेको थियो । सानुभाइसँगै बिक्रम र कमललाई पनि प्रहरीले हत्कडी लगाएर हिँडाएको प्रहरी स्रोतले बतायो । प्रहरीका अनुसार, हत्कडीसहित प्रहरीले डुलाएका गुरुङ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय थिए । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार, २५ पुस २०७२ मा उनी नुवाकोटबाट २८ बोर रिभल्वर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो । उनका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।

२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए । उनै गुरुङले १५ असारमा क्लब बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए । भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको उनको आरोप छ ।

तर, पक्राउ परेकाहरुले शेयरसम्बन्धी विवाद रहेको खुलाएका छन् । ‘शेयरको विषयमा पनि कुरा नमिलेको सुनेको छु, तर अहिले स्पष्ट भइसकेको छैन’, एसएसपी कार्कीले भने, ‘अदालतबाट म्याद लिएर थप अनुसन्धान सुरु गर्छौं ।’

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस