
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसको शाैचालयमा तालाबन्दी गरेको छ । प्रकृया मिचेर गरीएको छात्रबृत्ति बितरण प्रकृया खारेज गरेर वास्तविक छात्रबृत्ति पाउनुपर्ने बिध्यार्थिहरुले छात्रबृत्ति पाउनेगरी वितरण गर्न माग गर्दै मंगलबार संगठनले क्याम्पस प्रशासनको सौचालयमा ताला लगाएको हो ।
संगठनक केन्द्रीय सदस्य तथा क्याम्पस इकाई समिती संयोजक सर्जन पाण्डेले एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीका वृहत्तर हित र अधिकारको रक्षा र प्रचलन सुनिश्चिताका निम्ति यस क्याम्पस प्रशासनको शौचालयमा तालाबन्दी गरिएको बताएका छन् ।
विद्यार्थी नेता पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नेपालको समग्र आन्दोलन र विद्याथी आन्दोलनको संयुक्त प्रयासबाट निमुखा, विपन्न र उत्पीडित समुदायका विद्यार्थीका निम्ति उपलब्ध छात्रवृत्ति अधिकारका सम्बन्धमा यस रत्न राज्यलक्ष्मी क्याम्पसले नेपालको संविधान र अन्य कानुनको समेत वेवास्ता गर्दै स्नातकोत्तर तह र बीसीएको छात्रवृत्ति सुची सार्वजनिक गरेको र हाम्रो संगठनले यसरी विद्यार्थीका अधिकार माथी हमला नगर्न सचेत गराउँदा गराउँदै पनि त्यसलाई समेत वेवास्ता गर्दै विद्यार्थीका वृहत्तर हित र अधिकारको रक्षा र प्रचलन सुनिश्चिताका निम्ति यस क्याम्पस प्रशासनको शौचालयमा तालाबन्दी गरिएको छ ।’
त्यस्तै छात्रवृत्तिको न्यायोचित ढंगले पाउने अवस्था नबनेसम्म तथा संगठनले उठाएका मागहरु पुरा नभए सम्मका लागि तालाबन्दी यथावत रहने समेत विज्ञप्तिमा उल्लेख छ । संगठनले समावेशीता र समन्यायिक वितरणको मान्यतालाई पुर्णतः वेवास्ता गरेको, वास्तविक पाउनुपर्ने विद्यार्थीलाई छुटाइएको, मापदण्ड बिना छात्रवृत्ति वितरण गरिएकोस आरोप लगाएको छ ।
उक्त संगठनले छात्रवृत्तिको न्यायोचित वितरण, आन्तरिक मुल्यांकनको नतिजा सार्वजनिक, शैक्षिक क्यालेन्डर तयार गरी लागु गर्न समेत माग गरेको छ । समयमा नै समाधानको उचित विकल्प क्याम्पस प्रशासनले नखोजे उच्च स्तरका संघर्षका कार्यक्रमहरु घोषणा गर्ने समेत चेतावनी दिएको छ ।