
असार २ गते आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्ने घाेषण गरिएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले एक विज्ञप्ति जारी गर्दै आफूहरूको माग सम्बोधनका लागि दबाब दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा गरेको छ । ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई पठाएको सर्कुलरमा बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिइएको छ । परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै आएको छ । यसैक्रममा नेपाल सरकारको आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको सेवा सुविधाका विषयहरू सम्बोधन गरिने उल्लेख गरिएको थियो । तर बजेटमा उक्त विषय छुटाइएको भन्दै परिषद् आन्दोलनमा छ । गत जेठ १७ को पत्रकार सम्मेलनबाट घोषित आन्दोलनका कार्यक्रमहरूमध्ये पहिलो र दोस्रो चरणका कार्यक्रमहरू सम्पन्न हुँदा समेत सरकार आन्दोलनप्रति गम्भीर नभएको र बरु प्रहरी दमन भएकाले पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्ने घाेषणा गरेको हाे ।