अारसिपि,नेपालकाे केन्द्रीय सचिवालय बैठक सम्पन्न,असार १३ गतेसम्म एकता सम्पन्न गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ । कीर्तिपुरस्थित सिनासको हलमा जेठ २३ बाट सुरु भएको सचिवालयको बैठक शुक्रबार (आज जेठ २६ मा) सम्पन्न भएको हो ।

तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच पार्टी एकता भएपछि बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय सचिवालयको पहिलो बैठक सम्पन्न भएको हो । पार्टीका अध्यक्ष मोहन वैद्य किरणको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न बैठकमा अध्यक्ष किरणले संक्षिप्त राजनीतिक प्रतिवेदन र सांगठानिक प्रस्ताव पेश गर्नु भएको थियो । दुवै प्रतिवेदनमाथि बैठकमा सहभागी कार्यालय र सविचालयका सदस्यहरुले धारणा तथा सुझाव राखेका थिए ।

बैठकमा आफ्नो धारणा राख्ने सबै नेताहरुले दुवै पार्टीबीचको एकता क्रान्तिका लागि ऐतिहासिक आवश्यकता भएको भन्दै यो एकतालाई पार्टीको सेलसम्म सुदृढ बनाएर लैजानुपर्ने आवश्यकतामाथि जोड दिनुभएको थियो ।

दुवै प्रतिवदेनमाथि आएका सुझाव तथा धारणामाथि अध्यक्ष किरण र प्रवक्ता कञ्चनले प्रष्टीकरण दिनुभएको थियो । बैठकमा सचिवालय सदस्यहरुबाट आएका सुझावहरुलाई प्रतिवेदनमा समेट्ने गरी दुवै प्रस्ताव सर्वसम्मत रुपमा मुठ्ठी उठाएर पास गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

बैठकले पार्टीका कार्यालय सदस्य, सचिवालय सदस्य र केन्द्रीय सदस्य सबैको कार्यविभाजन गरेको छ । पार्टीका प्रदेश नेतृत्वहरु, विभाग र जवस मोर्चाका नेतृत्वहरु पनि ठोस गरेको छ । पार्टीको सेल कमिटिसम्म र जवस मोर्चाका सबै कमिटिहरुको एकीकरणको प्रक्रिया साउनको १५ सम्ममा टुंग्याइसक्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश र जिल्लाका एकता अधिवेशनसँगै राजनीतिक प्रशिक्षणका कार्यक्रमलाई पनि सँगसँगै लैजाने निर्णय गरेको छ । बैठकले सातवटै प्रदेशको एकता अधिवेशन र राजनीतिक प्रशिक्षणको मिति तय गरेको छ । जिल्लाहरुको मिति भने सम्बन्धित प्रदेशले ठोस गर्ने जनाइएको छ ।

प्राप्त जानकारी अनुसार प्रदेश ३ (वागमती) मा असार ३ र ४ गते, प्रदेश ४ (गण्डकी) र ५ (लुम्बिनी)मा असार ६ र ७ गते, प्रदेश २ (मधेस) र प्रदेश ६ (कर्णाली) मा असार ९ र १० गते र प्रदेश १ (कोशी) र प्रदेश ७ (सुदुरपश्चिम) मा असार १२ र १३ गते एकता अधिवेशन तथा राजनीतिक प्रशिक्षणको मिति ठोस गरिएको पार्टी कार्यालय सदस्य बसन्तले जानकारी दिनुभयो ।

बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका जल्दाबल्दा समस्याहरुलाई लिएर सहर केन्द्रित र जनताका दैनिक समस्याहरुलाई लिएर स्थानीय तहकेन्द्रित जनसंघर्ष उठान गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा अध्यक्ष किरणले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादी क्रान्तिको ऐतिहासिक अभिभारा पूरा गर्ने महान उद्देश्यलाई केन्द्रमा राखेर पार्टी एकता गरिएको भन्दै पार्टीले दिएको जिम्मेवारी पूर्ण क्षमताका साथ अनुशासित भएर पूरा गर्न सचिवालय सदस्यहरुलाई निर्देशन दिनुभयो ।

उहाँले पार्टीको एकतालाई विचारधारात्मक, सांगठानिक तथा भावनात्मक रुपमा पनि सुदृढ तुल्याउँदै एकता–संघर्ष–रुपान्तरणका आधारमा एकपछि अर्को अग्रगामी छलाङ हान्दै जान आवश्यक रहेको बताउनु भयो । उहाँले तत्कालका लागि सहमतिभित्र असहमित, असहमितभित्र सहमतिको विधिलाई आत्मसात् गर्दै एकताको यो ऐतिहासिक प्रक्रियालाई पार्टी र जवसका सबै कमिटिहरुमा पनि सुदृढ रुपमा लागू गरेर लैजानु पर्ने बताउनु भएको नेता बसन्तले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस