नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’लाई संसदवादको पुच्छर बनेको आरोप लागेको छ ।
आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालद्धारा ‘समाजवादी देशभक्त मोर्चा’ को सन्दर्भमा बिहिवार जारी प्रेस विज्ञप्तीमा विप्लव नेतृत्वको नेकपालाई संसदवादको पुच्छर बनेको आरोप लगाइएको हो ।
उक्त पार्टीको तर्फबाट प्रवक्ता जागृत रातमाझीद्धारा हस्ताक्षरित विज्ञप्तिमा पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा गम्भीर वैचारिक विचलन, गम्भीर रणनीतिक र कार्यनीतिक अन्यौल र दलाल पुँजीवादी संसदवादीहरुसँग कथित समाजवादी मोर्चाको नाममा संसदवादको पुच्छर बन्ने प्रस्ताव आएपछि उक्त पार्टीले समाजवादी देशभक्त मोर्चाको औचित्य समेत समाप्त भएको ठहर गरेको हो ।
त्यस्तै विज्ञप्तिमा भनिएको छ, ‘एमसिसिमा ल्याप्चे लगाउने माओवादी केन्द्र,एकीकृत समाजवादी जस्ता पार्टीहरू स्वयं दलाल पुँजीवादी संसदीय व्यवस्थाको मतियार हुन् र साम्राज्यवादका नेपाली एजेन्ट पनि उनीहरूसँग कथित समाजवादी मोर्चाको नाममा संयुक्त मोर्चा निर्माण गर्नु दलाल संसदीय पुँजीवादी व्यवस्था र साम्राज्यवादको पुच्छार हुनु हो।’
‘विप्लव नेतृत्वको नेकपाले भने जस्तै कथित समाजवादी मोर्चाको नाममा संसदवादी पार्टीहरूसँग संयुक्त मोर्चा निर्माण गर्नु ‘भनेको अन्ततः दलाल पुँजीबादी संसदीय व्यवस्थालाई नै भरथेग गर्नु हो र प्रतिक्रान्तिको नेपाली लहरमा आफूलाई बगाउनु हो ।, विज्ञप्तिमा उल्लेख छ ।’
उक्त पार्टीले तत्काल समाजवादी देशभक्त मोचा’को औचित्यको समाप्तिको निर्णयमा पुगे पनि नयाँ सन्दर्भमा क्रान्तिकारीहरुको विचमा रणनीतिक संयुक्त मोर्चा, संयुक्त मोर्चा वा कार्यगत एकताको निर्माणको निम्ति सदैव तत्पर रहेको समेत बताएको छ ।
केही समय देखी विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुत नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल विच ‘समाजवादी देशभक्त मोचा’ गठन गर्दै संयुक्त रुपमा आन्दोलनका कार्यक्रमहरू संचालित हुँदै आएका थिए ।
विज्ञप्ति जस्ताको त्यस्तै
“समाजवादी देशभक्त मोर्चाको विषयमा प्रेस विज्ञप्ती
हाम्रो पार्टी विश्व कम्युनिस्ट आन्दोलनमा भएको समाजवादी सत्ताहरूको पतन अथवा प्रतिक्रान्तिका श्रृंखलाहरूवाट गम्भीर शिक्षा लिदै आजको युगको वैज्ञानिक समाजवादी क्रान्तिको मौलिक कार्यदिशा सहित अघि बढिरहेको छ । साथै, हाम्रो पार्टी माओवादी आन्दोलनको विचलनसँगै नेपालमा प्रतिक्रान्तिको पेचिलो परिघटनाको विचमा क्रान्तिको दावानल सल्काउन प्रयत्नशील छ ।
सोही क्रममा सच्चा क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूको विचमा रणनीतिक संयुक्त मोर्चा संयुक्त मोर्चा र कार्यगत एकताको प्रस्ताव सहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाको मुद्दामा निरन्तर सङ्घर्ष पनि गर्दै आएको छ । पछिल्लो समयमा क विप्लव नेतृत्वको नेकपा, क ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र हाम्रो पार्टी विच समाजवादी देशभक्त मोचा’ गठन गर्दै आन्दोलनका कार्यक्रमहरू संचालित भइरहेका थिए ।
तर, पछिल्लो समय के विप्लव नेतृत्वको नेकपामा आएका तपसिलका गम्भीर वैचारिक विचलन, गम्भीर रणनीतिक र कार्यनीतिक अन्यौल र दलाल पुजीवादी संसदवादीहरूसँग कथित समाजवादी मोर्चाको नाममा संसदवादको पुच्छर बन्ने प्रस्ताव आएपछि हाम्रो पार्टी ‘समाजवादी देशभक्त मोर्चा को औचित्य समाप्त भएको ठहर गर्दछ ।
१) नेपाली समाजको आजको प्रमुख अन्तर्विरोध भूमण्डलीकृत पुँजीवाद अथवा विश्व साम्राज्यवादको कठपुतली बनेको नेपालको दलाल पुँजीवादी वर्ग र नेपाली जनता बिचको अन्तर्विरोध नै हो । क. विप्लव नेतृत्वको नेकपाले निष्कर्ष निकाले जस्तो साम्राज्यवादसँग नेपाली जनताको अन्तर्विरोध प्रधान बनिसकेको अवस्था होइन ।
२) अमेरिकी साम्राज्यवाद नेपालका सबै संसदवादी पार्टीहरूमार्फत नै नेपाली स्वाधीनतामाथि प्रहार गर्दै आइरहेको छ । क. विप्लव नेतृत्वको नेकपाले भनेजस्तो कुनै एकाध कठपुतली पार्टीहरूमार्फत मात्रै अमेरिकी साम्राज्यवादले चलखेल गरेको स्थिति होइन ।
३) एमसिसिमा ल्याप्चे लगाउने माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता पार्टीहरू स्वयं दलाल पुँजीवादी संसदीय व्यवस्थाको
मतियार हुन् र साम्राज्यवादका नेपाली एजेन्ट पनि उनीहरूसँग कथित समाजवादी मोर्चाको नाममा संयुक्त मोर्चा निर्माण गर्नु दलाल संसदीय पुँजीवादी व्यवस्था र साम्राज्यवादको पुच्छर हुनु हो।
(४) के विप्लव नेतृत्वको नेकपाले भने जस्तै कथित समाजवादी मोर्चाको नाममा संसदवादी पार्टीहरूसँग संयुक्त मोर्चा निर्माण गर्नु भनेको अन्ततः दलाल पुँजीवादी संसदीय व्यवस्थालाई नै भरथेग गर्नु हो र प्रतिक्रान्तिको नेपाली लहरमा आफूलाई बगाउनु हो । तसर्थ, त्यस दिशामा जाने निर्णयमाथि पुनर्विचार गर्न पनि हामी त्यस पार्टीलाई गम्भीर अनुरोध गर्दछौं ।
५) हाम्रो पार्टी तत्काल ‘समाजवादी देशभक्त मोचा को औचित्यको समाप्तिको निर्णयमा पुगे पनि नयाँ सन्दर्भमा त्रान्तिकारीहरुको विचमा रणनीतिक संयुक्त मोर्चा, संयुक्त मोर्चा वा कार्यगत एकताको निर्माणको निम्ति सदैव तत्पर रहेको पनि जानकारी गराउछौ ।”