तराईमा लु चल्यो एकैचोटी ९ जिल्लाका ३६ पाँलिकाका विद्यालयहरु बन्द

लुबाट कसरी बच्ने ?

तराईमा लु चलेकाे छ । प्रिमनसुनको उत्तरार्द्धमा वर्षा गराउने जलवायुजन्य गतिविधि निष्क्रियप्रायः बनिदिएपछि मुलुकभर अधिकतम र न्यूनतम तापक्रम उकालो लागेर गर्मी बढेको हो । तराईमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेपछि तातो हावा (लु) पनि चल्न थालेको छ, जसकारण दैनिक जनजीवन प्रभावित भएको छ । लु चल्न थालेपछि तराईका ९ वटाका जिल्ला ३६ वटा पालिका मा रहेका विद्यालयहरु विदा दिई बन्द गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष वैशाख पहिलो साता लु चलेकामा फेरि पछिल्लो पाँच दिनदेखि लु चल्न थालेको हो । तराई क्षेत्रमा तत्काल वर्षाको सम्भावना नरहेको, हावाहुरी पनि खासै नचलेको र बदली पनि नभएकाले अझै पाँच दिन तापक्रम उच्च नै रहने आकलन मौसमविद्ले गरेका छन् ।

तराईमा चल्यो लु

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो पाँच दिनदेखि मध्यतराईका बारा, पर्सा, सिराहा, रौतहट, धनुषा, रुपन्देहीलगायत जिल्लामा अधिकतम तापक्रम चेतावनीको स्तर पार गरेर विषम लु चल्न थालेको छ । पछिल्लो २४ घन्टामा सबैभन्दा बढी तापक्रम रौतहटको गौरमा ४२.६ डिग्री मापन भएको छ । त्यहाँ सोमबार ४१.३, मंगलबार ४२.३, बुधबार ४३.३ र बिहीबार ४२.६ डिग्री मापन भएको थियो । जनकपुरमा बिहीबार ३८.६ डिग्री मापन भएकामा शुक्रबार बढेर ४०.४ डिग्री पुगेको छ । शुक्रबार भैरहवा र सिमरामा ४०.५ डिग्री मापन भएको छ । ‘मध्यतराईका जिल्लामा लु बढी चल्न थालेको छ, त्यहाँको तापक्रम ४० डिग्रीभन्दा माथि नै छ,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले भने । यसअघि वैशाख पहिलो साता भैरहवाको तापक्रम ४२.२ डिग्री नाघेको थियो ।त्यसपछि वेलावेला वर्षा हुँदा तापक्रम अनुकूल भए पनि फेरि गर्मी बढेको हो । शुक्रबार धनगढीको तापक्रम ३७.८, नेपालगन्जमा ३८.६ र धरानमा ३७.१ डिग्री मापन भएको छ । पहाडी क्षेत्र त्यसमा पनि उपत्यका क्षेत्रमा तापक्रम उच्च छ । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री मापन भएको छ । त्यसबाहेक दिपायलमा ३१.२, वीरेन्द्रनगर (सुर्खेत)मा ३६.८, घोराहीमा ३५.६, पोखरामा ३३.८ र धनकुटामा ३०.४ डिग्री मापन भएको छ ।

लु चलेपछि ९ जिल्लाका ३६ वटा गाउँपालिकाका विधालयहरु एकैचोटि बन्द

लु चलेसि तराईका पालिकाले विद्यालय धमाधम बन्द गर्न थालेका छन् । अत्यधिक गर्मी बढेपछि बालबालिकामा स्वास्थ्य समस्या देखिने तथा पठनपाठन प्रभावित हुने समस्या देखिएपछि पालिकाहरूले विद्यालय बन्दको निर्णय गर्न थालेका हुन् । जनकपुर जिल्लाकाे जनकपुरधाम उपमहानगरपालिका,सप्तरी जिल्लाको राजविराज नगरपालिका,सिराहा जिल्लाको लहान नगरपालिका,
रौतहट जिल्लाकाे चन्द्रपुर नगरपालिका,कटहरिया नगरपालिकाका,गौर नगरपालिका,पर्सा जिल्लाका ६ वटा पालिकाका वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिका तथा बिन्दवासिनी,छिपहरमाई,पकाहा मैनपुर र पटेर्वा सुगौली गाउँपालिका,चितवन जिल्लाकाे रत्ननगर, खैरहनी, राप्ती र माडी नगरपालिका,भरतपुर महानगरपालिका,कालिका नगरपालिका,बाँके जिल्लाकाे नेपालगन्ज उपमहानगरपालिका,खजुरा गाउँपालिका,
झापा जिल्लाका १५ वटै पालिकाका विद्यालयमा बिदा दिएका छन् । कन्काई नगरपालिका,अर्जुनधारा,भद्रपुर नगरपालिका, कचनकवल, बुद्धशान्ति, झापा र हल्दीबारी गाउँपालिका,बिर्तामोड नगरपालिका,कमल गाउँपालिका,मेचीनगर, दमक र शिवसताक्षी नगरपालिका,गौरादह नगरपालिका,गौरीगन्ज र बाह्रदशी गाउँपालिकाले तीन दिन बिदा दिएका छन् । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाकाले समेत बिदा गरेको छ ।

लुबाट कसरी बच्ने ?

तातो हावा अर्थात् लुबाट हुने सम्भावित असर थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्तालगायत हुन् । लुबाट बच्न बढी गर्मीयाममा घरभित्र वा अनुकूल मौसम रहेको स्थानमा रहने, दिउँसो बाहिर नजाने, जानै परेमा छाता ओढ्ने, टाउको छोप्ने, टोपी लगाउने, घाममा बढी नबस्ने, हल्का तथा सुतीका लुगा लगाउने, पटकपटक पानी तथा झोल पदार्थ (जुस, सर्वत) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहनुपर्छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस