एकता प्रक्रियामा ध्रुवीकृत हुन छरिएर रहेका क्रान्तिकारीहरुलाई अारसिपि-नेपालको आव्हान

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच साेमबार पार्टी एकता भई बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले छरिएर रहेका क्रान्तिकारीहरुलाई ध्रुवीकृत र एकीकृत हुन हार्दिक आव्हान गरेको छ । नवगठित पार्टीका अध्यक्ष मोहन वैद्य किरणले पार्टी एकता घोषणा वक्तव्य जारी गर्दै विभिन्न संसदीय संशोधनवादी दलहरुको भ्रममा परेका क्रान्तिकारीहरु, छरिएर रहेका स–साना समूहहरु र व्यक्तित्वहरुलाई यो ऐतिहासिक एकता प्रक्रियामा ध्रुवीकृत र एकीकृत हुन आह्वान गर्नुभएको हो ।

पार्टी एकता घोषणा वक्तव्यमा भनिएको छ, “देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेका छन् । एमसिसी र एसपिपि जस्ता सम्झौताहरुमा पुगेर राष्ट्रियताको समस्या भयानक बनेको छ । झुठा मुद्दामा राजनैतिक नेता तथा कार्यकर्ताहरुलाई फसाएर तथा बन्दी बनाएर जनतन्त्रको समस्यालाई चरमचुलीमा पु¥याइएको छ । बैङ्कहरुको संरक्षणमा लघुवित्तीय, मिटरब्याजी र कथित सहकारी संस्थाहरुको चरम सुदखोरीले जनजीविकाका समस्याहरु आकाशिएका छन् । राज्यसत्ता, सरकार र सम्वन्धित निकायहरु यी समस्याहरुको समाधान गर्नुको सट्टा आन्दोनलकारीहरुमाथि दमन गर्न उद्यत रहेको छ । हाम्रो पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको अन्तिम समाधानका लागि जनसंघर्षको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ ।”

प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस