अब भन्नुस् कुन चाहीँ स्ववियु नेता तपाईँको रोजाईको ?

आज्काल सबेरै उठ्छ ऊ
भोली पल्ट लगाउनु पर्ने टाई सुट
बरु अघिल्लो दिनै लाएर सुत्छ
ओछयानबाट एक्कासी कुद्छ
अनि उछिट्टिएर क्याम्पस गेट पुग्छ
अनि सुरू हुन्छ उस्को चर्तिकला
“नमस्ते नमस्ते ! म फलानो
कस्तो चल्दैछ अहिलेको पढाई?
समस्या भए हामिलाई भन्नु ल ।”

छक्क पर्छन् राजनीतिको ‘र’ नजानेका विद्यार्थी
बिचरो आशै न हो,
रामायण पढेसरि सुनाउछन् एक एक समस्या खररर
माथीबाट कसैले जबरजस्ति हातमा थमाइदिएको
पेन र सानो डायरी खल्तिबाट निकाल्दै
लेख्छ उसले चाहिँ समस्याहरु
चर्पीको समस्या, खानेपानी, पुस्तकालय…….!

मन नलाई नलाई लेख्ने
त्यो छोटे नेता पनि अच्चम्मित छ
“हैन कति धेरै भनेको! हात गलिसक्यो!”
मन मनै सोच्छ
नियमित विद्यार्थी भए पो आफै थाहा पाउँथ्यो,
समाधान गर्ने भए पो चनाखो हुन्थ्यो समस्या प्रति
थाहा हुँदैन उसलाई वर्षौँ वर्ष चर्पीमा पानी नआएको
बिर्सिसक्यो आफै पढेको भाँचिएको बेन्च
याद छैन अघिल्लो चुनावमा जिताएका झुटा आश्वासनहरु
याद हुँदैन उसलाई क्याम्पसका Permanent समस्याहरु
बिचरो ऊ त Temporarily विद्यार्थी न हो
स्ववियू चुनाव जित्न माथीको आदेशमा बनेको विद्यार्थी ।

उसलाई समस्या धेरै हुनुमा भन्दा भन्नुमा आपत्ती छ
किनकी उसलाई ऊ जस्तो अन्य
एकसेएक  विद्यार्थीहरूलाई भेट्नु छ,
सयौँ विद्यार्थीको नजरमा पर्नु छ,
हजारौं समस्या डायरीमा टिपोट गर्नु छ
किनकी उसलाई माथिको आदेशमा भए पनि
स्ववियू चुनाव जित्नु छ!
जान त ऊ अरुबेला पनि क्याम्पस जान्थ्यो,
जब पार्टीको अधिवेशन/सम्मेलन आउँथ्यो
विद्यार्थी ऊ पनि बन्थ्यो,
जब माथीबाट आदेश आउँथ्यो,
“आज कार्यक्रममा कति विद्यार्थी आउँछन्? प्रति विद्यार्थी १००० हो है फेरी! अवसर नगुमाऊ !”

अचेल घरी घरी त अबेर सम्म सुत्दो रहेछ ऊ,
फेरी माथी बाट फोन आउँछ,
“भाई आज क्याम्पस नगाको ?
नेता बन्नु छैन ? हामी माथी गृहकार्य गरिरा’छौँ
जति सक्दो धेरै विद्यार्थी सँग भेट,
अनि जसरी हुन्छ धेरै विद्यार्थी खोज भर्ना गर्न,
हामी पठाईदिन्छौँ बजेट कति चाहिन्छ!”
कसैको गोटी न हो ऊ पनि
जर्‌याक जुरुक उठ्छ
बोलाउँछ दुई चार जना भुस्तिग्रे
अघिल्लो दिनको डायरी पेन खै कता छुट्यो,
नयाँ पेन, डायरी किन्छ अनि
जान्छ क्याम्पस, कक्षा कक्षामा छिर्छ
भाषण गर्छ, सर्वशुलभ शिक्षाको बारेमा बोल्छ
सबैको पहुँचमा पुर्‌याउने आश्वासन दिन्छ
जो अघिल्लो चुनावमा पनि दिएको थियो!
कुनै विज्ञलाई घोषणापत्र बनाउन पठाउँछ,
अनि भन्छ, म यो गर्छु, त्यो गर्छु,
उसले पुनः भरना गरेरै भए पनि
चुनाव लड्छ, लाखौँ खर्चन्छ किनकी
उसलाई स्ववियू चुनाव जित्नु छ ।

त्यही चर्तिकलाको बीचमा अर्को विद्यार्थी छ,
जो सम्भवतः नियमित क्याम्पस जान्छ
निश्चिन्त हेरिरहेछ ठुटे अल्पकालिन नेताहरुको पछिल्ला कार्यशैली,
उसलाई कण्ठस्त छ क्याम्पसका समस्याहरु,
ऊ कहिले सुस्तामा काँडेतार लगाउन पुग्छ
कहिले लिपुलेक अतिक्रमणको विरुद्धमा बोल्छ,
कहिले वैदेशिक हस्तक्षेपको विरुद्धमा त कहिले
निर्मला पन्त, भागिरथी भट्टको बलात्कारीलाई कारवाहीको निम्ति, सरकारको गलत कदमको विरुद्धमा
कालो ब्यानर लिएर उत्रन्छ मैदानमा
किनकी ऊ निडर विद्यार्थी नेता हो ।

ऊ सँधै विद्यार्थी मात्र बन्दैन,
घरी घरी अभिभावक बनेर विद्यार्थीको बीचमा जान्छ,
घरी प्रशासन समक्ष पुग्छ विद्यार्थीको समस्या लिएर
शुल्क घटाउने माग राख्दै, सर्वशुलभताको माग गर्दै
घरी ऊ जिल्ला शिक्षा, नगर शिक्षा कार्यालय तर्फ धाउँछ,
शिक्षाको बारेमा छलफल बहस चर्काउँछ,
अनियमितता, भ्रष्टाचार विरुद्ध खबरदारी गर्छ,
चेतावनी दिन्छ र शडकमा उत्रन्छ, अझै कालो मोसो दल्न भ्याउँछ केही त्यस्ता पात्रहरुलाई
किनकी ऊ पनि सशक्त विद्यार्थी नेता हो ।

कहिले ऊ विद्यार्थी बन्छ, कहिले अभिभावक
कहिले चर्काचर्की बहस गर्छ कहिले कालो मोसो दलिदिन्छ,
कहिले सामान्य नागरिक त कहिले विद्रोही बन्छ ऊ
गलत कदमको विरुद्ध बोलेकै कारण घरी प्रहरी हिरासत पुग्छ, घरी पुग्छ   जन सम्मान सहित आम सभामा,
उसलाई आफ्नो ज्यानको प्रवाह छैन,
मात्र सरोकार छ जनजिविकाको, विद्यार्थी हकहितको
ऊ नेता पनि हो र जनता पनि !

खोक्रो आदर्शवादको ढ्याङ्ग्रो ठोक्दैन उसले
देखावटी राष्ट्रियताको नारा लगाउँदैन,
दुईचार जनालाई निःशुल्क भरना गरिदिने सोच राख्दैन
छात्रावृत्ती दिलाईदिने आश देखाउँदैन
न त आश्वासन दिन्छ समानताको
किनकी उसलाई थाहा छ समस्याको जड
क्याम्पस, विद्यालय होईन
समग्र दलाल तथा निगम पूँजिवादी शिक्षा प्रणाली
र यसलाई निर्देशित गरेको दलाल पूँजिवादी व्यवस्था हो भन्ने कुरा
त्यसैले उसले क्षणिक र सिमित सुधार होईन समग्र परिवर्तनको कुरा गर्छ,
निःशुल्क शिक्षा मात्र होईन अनिवार्य तथा
वैज्ञानिक शिक्षा प्रणालीको कुरा गर्छ,
कुरा गर्छ आमुल रुपान्तरणको,
किनकी ऊ क्रान्तिकारी विद्यार्थी नेता हो ।

कठिन घडिमा छौँ हामी,
भिँडको पछि लाग्ने जमातमा छौँ हामी
शुन्य छ स्वविवेक अनि दृष्टिकोण
खडेरी लागेको छ आत्मगत चिन्तनको
यस्तो बेला एकाथरी खोक्रे नेता खैलाबैला मच्चाईरहेछ,
बहकाईरहेछ तथानाम आश्वासन बाँडेर सर्वत्र
र अर्को नेता सुमधुर गतिलाई निरन्तरता दिईरहेछ,
अब भन्नुस् कुन चाहीँ नेता तपाईँको रोजाईको ?
टेम्प्रोर्ली कि पर्मानेण्ट ?
आफै निरन्तर खट्ने कि माथिको आदेशमा ?
जिम्मा तपाईँको हातमा,
गलत कुसंस्कारलाई प्रश्रय दिने या परिवर्तनको झण्डा फहर्‌याउने ?

अमृत श्रेष्ठ नेवाः
अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय सदस्य

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस