
नेकपा (बहुमत) गोरखाले एनआईसी एसिया नाउँको लघुवित्त संस्थाका कर्मचारी जगत गुरुङले गण्डकी गाउँपालिका वडा नं. ६ लुपराङमा डल्लीमाया चेपाङमाथि भौतिक आक्रमण गरेको भन्दै घटनाको घोर निन्दा र भत्र्सना गरेको छ ।
पार्टीका जिल्ला इन्चार्ज कमल खड्का र संयोजक नवराजले आइतबार विज्ञप्ति जारी गरी यसप्रकारको घटना दोहोरिएमा जनप्रतिरोध हुने र त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा जनताको बलिदानबाट सामन्तवाद केही परास्त भएको भए पनि अहिले नवसामन्तवादका रूपमा गाउँदेखि सहरसम्म लघुवित्तीय संस्थाद्वारा नेपाली दिदीबहिनीलाई विभिन्न आश्वासन दिएर समूह सदस्य बनाई चर्को ब्याज लगाएर आर्थिक शोषण गरिरहेको उल्लेख छ । लघुवित्त संस्था अहिले आर्थिक शोषण मात्र नभएर भौतिक आक्रमणमै उत्रिएको भन्दै विज्ञप्तिमा घटनाको निन्दा गरिएको छ ।
प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार