नेपाल कम्युनिष्ट पार्टी (बहुमत) जाजरकोटले ठेकेदार केशव शाहलाई कार्वाही गरेको छ । बहुमतले ठेकेदारको नाम,फोटो र ठेकेदारले बनाएको वालको जीर्न फोटो व्यानरमा टाँसेर उसैले काम गर्न जिम्मा लिएको ठाउँ नजिकै व्यानर झुन्ड्याएको छ । यसलाई नेकपा(बहुमत) ले पहिलो चरणको सांकेतिक कार्वाहीको परिभाषा दिएको छ । सोमबार शाहले काम लिएको ठाँउ जिल्ला ट्राफिक कार्यालय जाजरकोट देखि गैरीखाली जाने बाटोको रुखमा बहुमतले उक्त व्यानर सबैले देख्ने गरी झुन्ड्याएको हो ।
व्यानरमा बहुमतले ६ वटा बुँदा समेटेको छ । ठेकेदार केशव शाहले सडकको वाल निर्माणका लागि २०७७/१२/११ गते सडक डिभिजन कार्यालय चौरजहारीसंग कुल बजेट १ करोड ६५ लाख ५१ ह्जार ८ सय ३४ रुपैयामा सम्झौता गरेका थिए । उक्त वाल केशव शाह कन्टक्सनले २०७८/१२/२० गते सम्पन्न गरेको थियो । तर सम्पन्न गरेको १ महिना नबित्दै वाल जिर्न अवस्थामा परिणत भएको थियो । शाहले बनाएको वाल भत्केर अहिले तहसनहस भएको छ । जसले गर्दा सडकको पुरै भाग जोखिम अवस्थामा पुगेको छ । अहिले त्यहि सडक माथि पिच गर्न लागिएको छ ।
ठेकेदार केशव शाहले जनताको हित विपरित काम गरेको भन्दै नेकपा (बहुमत) ले कार्वाहीको प्रक्रिया अगाडी चालेको बहुमतका जाजरकोट डोल्पा इन्चार्ज धमिलले बताएका छन् । बहुमतले ठेकेदार कम्पनिले भ्रष्टाचार गरेको भन्ने गम्भिर आरोप लगाएको छ । अबको १ महिना भित्रै जिर्न वालको मर्मत नगरे जनकार्वाही गर्ने चेतावनी समेत बहुमत जाजरकोटले दिएको छ । केशव शाहलाई मात्र होइन अब विकास निर्माणका कुनै पनि काममा गद्दार सबै ठेकेदारहरुलाई कार्वाही गर्ने इन्चार्ज धमिलले चेतावनी दिएका छन् ।
ठेकेदार शाहलाई पटक पटक ताकेता गरेको सडक डिभिजन कार्यालय चौरजहारी बताएको छ । पटक पटक ताकेता गर्दा पनि ठेकेदार शाहले अटेर गरेको इन्जिनियर दिलिप यादबले गुनासो गरे । पुर्ननिर्माणका लागि ठेकेदारलाई पत्र काटेने र अटेर गरे कानुन बमोजिम कार्वाही गर्ने समेत इन्जिनियर यादवले प्रतिबद्दता व्यक्त गरेका छन् । ठेकेदार शाहले अहिले सम्म १ करोड ५५लाख ५८ हजार ७ सय ६ पैसा भुक्तानी लिइसकेका छन् ।