काठमाडौंमा सुकुम्बासीलाई बहुमतकाे साथ,अधिकार प्राप्तिको आन्दोलनमा अघि बढ्न अाग्रह

काठमाडौंमा सुकुम्बासीहरुकाे प्रतिरोधमा नेपाल कम्युनिस्ट पार्टी(बहुमत) काठमाडौं जिल्लाले साथ दिएको छ । अाज जिल्ला ईन्चार्ज संगम र जिल्ला संयाेजक अविरलले अाज संयुक्त विज्ञप्ति जारि गर्दै सुकुम्बासीकाे व्यवस्थापन नगरि डाेजर लगाएर विस्थापित गर्न खाेज्नु अमानवीय कार्य भएको बताउदै यस्तो कार्यलाई प्रतिरोध गर्दै अधिकार प्राप्तिको आन्दोलनमा अघि बढ्न समेत अाग्रह गरेको छ । अाज जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै – “हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निरन्तर राष्ट्रियता,जनतन्त्र र जनजीविकाका पक्षमा दृढतापुर्वक सङ्घर्ष गरिरहेको सर्वविदितै छ । कथित संसदीय निर्वाचनको अन्तिम परिणाम नआउँदै भोट बैंकको रुपमा प्रयोग भएका सुकुम्बासीहरुलाई संसदीय दलहरु र दलाल माफियाहरुको मिलेमतोमा काठमाडौं महानगरपालिकाको बालेन प्रशासनले थापाथली स्थित बागमती किनारामा रहेको सुकुम्बासी बस्तीमाथी गरेको अमानवीय डोजर आतंकको घटनाप्रति हाम्रो पार्टीको गम्भिर रुपमा ध्यानाकर्षण भएको छ । यस घटनाले संविधानतः प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र कुनै पनि नागरिकलाई निजको बासस्थानबाट हटाउने वा अतिक्रमण गरिने छैन भन्ने मौलिक अधिकारमा उल्लेखित बुँदाको पनि उपहास भएको छ ।
देशका करिब ६५ लाख र काठमाडौं उपत्यकामा भएका करिब ६५ बस्तीमा भएका हजारौँ सुकुम्बासीहरुलाई बिना कुनै छानबिन र विकल्प बिना नै अमानविय हिसाबले मंसीरको कठ्यांग्रीदो चिसोमा आवास बिहिन बनाउने कथित एकीकृत बागमती सभ्यता विकास समिति र बालेन प्रशासनको जति नै निन्दा एवं भत्सर्ना गरे पनि कम हुन्छ । विगतमा काठमाडौं उपत्यकाका वास्तविक सुकुम्वासीहरुको आवास व्यवस्थापन गर्न काठमाडौंकै नागार्जुनमा सुविधा सम्पन्न भवन बनाइएको र हालसम्म पनि उनीहरु त्यहाँ स्थानान्तरण नहुनुले राज्य सुकुम्वासीप्रति कति असम्वेदनशील छ भन्ने प्रस्टै हुन्छ । बिना कुनै विकल्प स्थानीय सरकारले बस्तीमा गरेको अतिक्रमण र त्यसका विरुद्ध सुकुम्वासीहरुले आफ्नो आवास रक्षाको लागि गरेको प्रतिरोध संघर्षमा हाम्रो पार्टीको पुर्ण रुपमा ऐक्यवद्धता छ साथै उनीहरुका समस्यासँग जुध्न पार्टी सदैव सँगसँगै हुने पनि प्रतिवद्धता व्यक्त गर्दछ । संघीय र स्थानीय सरकारले वास्तविक सुकुम्वासी पत्ता लगाई यथासिघ्र उनीहरुलाई उचित स्थानमा व्यवस्थापन गर्न जोडदार माग गर्दछौँ । अन्तमा यो सत्ता जनताको नभएकोले जन्मसिद्ध जमीनमाथी आम नागरिकको अधिकार सुनिश्चित हुने वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको आन्दोलनमा अगाडी बढ्न आम शोषित,उत्पीडित वर्गमा हार्दिक अपिल गर्दछौँ ।”

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस