सुकुमबासीको प्रतिरोधमा नेकपा बहुमतकाे प्रशंसा-“प्रतिरोध बाटै वैज्ञानिक समाजवाद अाउनेछ”

नेकपा (बहुमत) ले काठमडौँ महानगरपालिकाको बालेन शाह प्रशासनले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुमबासी बस्तीमाथि हमला गर्न पठाएका ३ वटा डोजर र दर्जनौँ महानगर प्रहरीमाथि सुकुमबासीले गरेको प्रतिरोधको प्रशंसा गरेको छ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सुकुमबासीको प्रतिरोधबाट डोजर फर्कन बाध्य भएको घटनाबाट नेपाली शोषित–उत्पीडित जनसमुदायको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को गम्भीर ध्यानाकर्षण भएको र राज्यसत्ताले सुकुमबासी समस्या व्यवस्थापन नगरेमा सुकुमबासीलगायत आमशोषित–उत्पीडित जनसमुदाय प्रतिरोधमा उत्रेर जमिनमाथि आमनागरिकको जन्मसिद्ध अधिकारसहित स्वाधीन संयुक्त सरकार निर्माण गर्दै वैज्ञानिक समाजवादको लक्ष्यमा अघि बढ्ने चेतावनी पनि दिएका छन् ।
प्रवक्ता सुदर्शनले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘आज सोमबार दिउँसो चार बजे काठमाडौँ महानगरपालिकाको बालेन शाह प्रशासनले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुमबासी बस्तीमाथि ३ वटा डोजर र दर्जनौँ महानगर प्रहरीसहित हमला गर्न जाँदा सुकुमबासीहरूको प्रतिरोधबाट डोजर फर्कन बाध्य भएको घटनाबाट नेपाली शोषित–उत्पीडित जनसमुदायको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को गम्भीर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देशभर ६० लाखको सङ्ख्यामा रहेका सुकुमबासीलाई बिनाकुनै छानबिन र बिनाकुनै विकल्प सरकारले ठाउँठाउँबाट लखेटेका घटना दोहोरिएका छन् । हामी सङ्घीय सरकार र स्थानीय सरकारलाई वास्तविक सुकुमबासी र नक्कली सुकुमबासी वैज्ञानिक रूपमा छानबिन गरी वास्तविक सुकुमबासीका लागि उचित स्थान र व्यवस्थापन गरी उनीहरूलाई ससम्मान सारियोस् भनी जोडदार माग गर्दछौँ । राज्यसत्ताले यो व्यवस्थापन गरेन भने सुकुमबासीलगायत आमशोषित–उत्पीडित जनसमुदाय प्रतिरोधमा उत्रेर जमिनमाथि आमनागरिकको जन्मसिद्ध अधिकारसहित स्वाधीन संयुक्त सरकार निर्माण गर्दै वैज्ञानिक समाजवादको लक्ष्यमा अघि बढ्नेछन् ।’

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस