नेकपा(बहुमत)का नेताकार्यकर्ता रिहा,संयोजक कञ्चन र प्रवक्ता सुदर्शनले गरे स्वागत

संसदीय चुनाव अवज्ञा आन्दोलनका क्रममा काठमाडौँबाट आइतबार गिरफ्तार गरिएका नेकपा (बहुमत) का सचिवालय सदस्य एवम् बागमती उपत्यका ब्युरो इन्चार्ज शरद रसाइलीसहित २४ जना आज हिरासतमुक्त भएका छन् । काठमाडौँका विभिन्न स्थानमा रहेका प्रहरी हिरासतबाट उनीहरू मुक्त भएका हुन् । पार्टी संयोजक कञ्चन र पार्टी प्रवक्ता सुदर्शनको उपस्थितिमा सबैलाई रिहा गरिएको हो । रिहाइपछि काठमाडौँमा कार्यक्रम आयोजना गरी हिरासतमुक्त नेता–कार्यकर्तालाई पार्टी संयोजक कञ्चन र प्रवक्ता सुदर्शनले स्वागत अभिनन्दन गरेका छन् ।

माइतीघर मण्डलामा निर्वाचन अवज्ञा आह्वान गर्दै आइतबार निकालिएको जुलुसबाट गिरफ्तार गरिएकाहरूमध्ये महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएका नेकपा (बहुमत) का १५ जना, दरबारमार्ग प्रहरी वृत्त हिरासतमा रहेका ७ जना र तीनकुने प्रहरी वृत्तको हिरासतमा रहेका २ जनासमेत २४ जनालाई पार्टीका संयोजक कञ्चन, प्रवक्ता सुदर्शनलगायत पार्टी नेताको उपस्थितिमा हिरासतमुक्त गरिएको थियो । हिरासतबाट मुक्त भएका सबै नेता–कार्यकर्तालाई बागबजारस्थित हार्दिक होटेलमा पार्टीका संयोजक कञ्चन र प्रवक्ता सुदर्शनले अबिर र खादा लगाएर स्वागत गरेका थिए ।

सोह्रखुट्टे हिरासतबाट शरद रसाइली, हरि श्रेष्ठ, निशान ठकुरी, नितेश थापा, रोहित दाहाल, सरोज न्यौपाने, भूपाल विक, दिनेश नेपाली, दीपेन्द्र क्षेत्री, दिनेश जोशी, मीनबहादुर ऐरी, उद्धव थापा, विक्रम पौडेल, आयुषा भुजेल र सम्झना गिरी मुक्त भएका हुन् । त्यसैगरी दरबारमार्ग हिरासतबाट नवराज भट्ट, सपना पुनमगर, वीरेन्द्र नेपाली, कृष्ण खड्का, गणेश थापा, स्मृति कार्की र वचन शाह मुक्त भएका छन् । त्यसैगरी तीनकुने हिरासतबाट गोविन्द बिष्ट र धनराज विक मुक्त भएका छन् ।

हिरासतमुक्त भएका नेता–कार्यकर्तालाई स्वागत अभिनन्दन गर्दै नेकपा (बहुमत) का नेताहरूले दलाल पुँजीवाद र संसदीय व्यवस्था असफल भइसकेकाले क्रान्तिकारी आन्दोलनले यसलाई विस्थापित गरेर वैज्ञानिक समाजवाद स्थापित गर्ने बताए । जेल मोर्चामा विजय प्राप्त गरेर नेकपा (बहुमत) का नेता–कार्यकर्ताले आफ्नो क्रान्तिकारी कौशल प्रस्तुत गरेको पनि नेताहरूले बताएका थिए ।    

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस