नवलपरासीमा भोली मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको माैन अवधिमा पनि “नो भोट” अभियान सञ्चालन भइरहेको पाइएको छ ।
नेकपा (बहुमत) पार्टि निकटको अखिल(क्रान्तिकारी)ले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीलाई अवज्ञा गरौँ भन्दै “नो भोट” अयिभान जारी राखेको हो ।
उक्त संगठनले “विनोद चौधरीलाई अवज्ञा किन” भन्ने शिर्षकमा पर्चा वितरण गरिरहेको छ । उक्त पर्चामा ९ वटा कारण देखाएर विनोद चौधरीलाई भोट नहाल्न अपिल गरिएको छ । उक्त पर्चामा विनोद चौधरी स्वास्थ्य र शिक्षाको माफिया भएकाले तथा अर्बौ कर छली गरेकाले भोट नदिन आह्वान गरिएको छ ।
त्यस्तै काम गर्ने मजदुरको श्रम शोषण गरेकाले । एशीयाली विकास वैंकबाट आफूले ऋण लिएर काम नगरेकाले पनि भोट नदिन भनिएको छ । भुकम्प पुर्ननिमार्णको लागि विदेशबाट पैसा ल्याएर घोटाला गरेको र सीजी टेलिकमको अनुमतिको लागि अर्बौ चलखेल गर्न लागेको आरोप लगाइएको छ । त्यस्तै बजेट निमार्ण प्रक्रियामा सिसीटीभी फुटेज गायब गराउन संलग्न भएकाले र नेपालको पैसा विदेशमा लगानी गरेर अर्थतन्त्रलाई धराशायी बनाउन लागेकाले अवज्ञा गर्न भनिएको छ ।
नेकपा(बहुमत) लगायत केही दलले भोली सम्पन्न हुने निर्वाचनको अवज्ञा गर्दै आएका छन् । उक्त पार्टिका पश्चिम नवलपरासी जिल्ला संयोजक कृष्ण गीरीले चौधरी अर्थमन्त्री बन्ने लक्ष सहित यस क्षेत्रमा उम्मेदवार हुन आएका र मुलुकको अर्थतन्त्रलाई आफ्नो स्वार्थ अनुकुल सञ्चालन गर्ने भएकाले आफूहरुले उनीविरुद्धको अभियान सञ्चालन गरिरहेको बताउनुभयो । गीरीले निर्वाचन पछि प्रत्येक जनप्रतिनिधिका सन्तानले सरकारी विद्यालयमा पढ्नुपर्ने अभियान सञ्चालन गर्ने र सरकारी विद्यालयले उठाउने गरेको शुल्कको पनि विरोध गरिने बताउनुभयो ।