
उत्तर कोरियाले एकपछि अर्को लगातार एकै समयमा गरी कम्तीमा दश मिसाइल प्रहार गरेको छ । यी मध्ये एउटा ब्यालेस्टिक मिसाइल पहिलो पटक दक्षिण कोरियाको सामुद्रिक सीमामा खसेको छ । त्यसपछि टापुमा हवाई हमलाको चेतावनी जारी गरिएको थियो ।
दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र दक्षिण कोरियाको जलक्षेत्र नजिक खसेको यो पहिलो पटक भएको बताएको छ । दक्षिण कोरियाका शीर्ष अधिकारी केंग शिन चुलले उत्तर कोरियाको क्षेप्यास्त्र दक्षिण कोरियाली सीमा नजिकै खसेकोले यो प्रहार अत्यन्तै अनौठो र अस्वीकार्य बताएका छन् ।
उत्तर कोरियाले यी क्षेप्यास्त्र प्रहार गर्नुअघि दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको वायु सेना अभ्यास रोक्न भनेको थियो । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–युलले उत्तर कोरियाको आक्रामकताको छिट्टै जवाफ दिइने बताएका छन् । उनले दक्षिण कोरिया र अमेरिकाबीचको सम्बन्ध तोड्ने कुनै पनि प्रयास सफल नहुने बताए ।