व्यवस्था फेरियो, अवस्था फेरिएन

बिहानको मिरमिरे उज्यालोसँगै गजवीर बोटे घरछेवैको गोठमा डाँढाभाटा लगाउँदै थिए। पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका-७ दैलातुंगका गजवीरको गत २०७८ फागुनमा गोठ आगलागी भएको थियो। ‘पानीबाट जोगाउन फालिएका टिन र त्रिपाल बटुलेर लगाउँदै छु,’ उनले भने। यहाँ ३२ घर बोटेमाझीको बस्ती छ। गजवीर, बोटे समुदायका अगुवा हुन्।

८२ वर्षीय गजवीरले नेपालको राजनीतिक व्यवस्था फेर्न यो क्षेत्रबाट अगुवाइ गरेका थिए। पञ्चायतकालमा जनतापक्षबाट अगुवाइ, ०४७ मा बहुदलको आन्दोलन र ६२–६३ मा जनआन्दोलनको नेतृत्व गरेका गजवीर आफ्नै छाक टार्न समेत जोहो गर्न नसक्ने अवस्थामा पुगेका छन्।

६८ वर्षीया श्रीमतीसँगै बस्दै आएका गजवीरका छ छोरा र चार छोरी छन्। तर उनीहरू कुनै पनि साथमा छैनन्। यो बस्ती कालीगण्डकी नदी किनारमा अवस्थित छ। यहाँका बोटे समुदायले डुंगा तार्ने काम गर्थे। दैलातुंगदेखि पाल्पाको बगनासकाली, तानसेन तथा स्याङ्जाको कालीगण्डकी र गुल्मीसम्मका मानिस कालीनदी तरेर जान्थे। गजवीरले १३ वर्षको उमेरदेखि डुंगा तार्ने काम गर्दै आएका थिए।

तीन वर्षअघिसम्म यहाँको कालीगण्डकी नदीमा आजकल जस्तो पुल थिएन। सर्वसाधारणलाई नदी वारिपारि गर्न डुंगाको सहारा लिनुपर्थ्यो। मान्छेलाई वारिपारि गराएर स्थानीय बोटे समुदायको घरमा चुलो बल्थ्यो। अहिले कालीगण्डकी नदीमा पुल बनेपछि गजवीरको डुंगा गण्डकी किनारमा फालिएको छ। उनको आम्दानीको स्रोत पनि बन्द भएको छ।

यहाँकै रूकबहादुर बोटे खुट्टामा चोट लागेपछि घरमै थला परेको चार वर्ष भयो। ६९ वर्षका रूकबहादुरलाई गाउँमा बाँदर धपाउन जाँदा लडेर चोट लागेको थियो। गाउँमै मेलापात र माछा मारेर दैनिकी चलाउँदै आएका उनले आफ्नो जीवनकालमा छ पटक संसदीय निर्वाचनमा भोट हालेका छन्।

‘पहिला पहिला त घर आएर भोट माग्थे, अहिले त आएका छैनन्,’ आसन्न मंसिर ४ को चुनावलाई लक्षित गर्दै उनले भने, ‘यहीँ माथिबाट नेताहरूको गाडी जान्छ, गाउँमा पस्दैनन्।’

रूकबहादुरको घर नजिकै खानीगाउँ दैलातुंग–स्याङ्जा–विर्गा जोड्ने मोटरबाटो छ।

अन्य समुदायका घरमा टिनको छानो लगाइएको छ भने बोटेहरूका धेरैजसो घर झुपडी र टिनको छाप्रोयुक्त छन्। वैदेशिक रोजगारीका अतिरिक्त पुरुषहरू सिकर्मी/डकर्मी काम गर्ने, वल्लोपल्लो घरमा ज्याला मजदुरीमा काम गर्न जान्छन्। महिलाहरू छिमेकीका घरको कामधन्दासँगै उनीहरूका खेतबारीको काम गर्छन्।

यहाँका बोटे समुदायसँग उनीहरूलाई गरिखान पुग्ने जमिन छैन।

‘उब्जाएको उत्पादनले खान पुग्दैन, किनेर खान पैसाले पुग्दैन,’ स्थानीयवासी पवित्रा बोटेले भनिन्, ‘हामीलाई के नै चाहिएको छ र! दुई छाक खान पुग्ने व्यवस्था भइदिए हुन्थ्यो भन्ने त हो।’

बोटे बस्तीमा सरकारले जनता आवास कार्यक्रमबाट घर बनाइदिएको थियो। पवित्राका अनुसार ३२ घर बोटे परिवार रहेको बस्तीमा आठ वटा मात्र घर बनेका छन्। बाँकी झुपडी र टिनको छाप्रो हुन्।

कुल जनसंख्याको ०.५ पाँच प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ। नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन्। यसमा बोटे र माझी पनि पर्छन्।

पाल्पा सदरमुकाम तानसेनबाट झन्डै १५ किलोमिटर उत्तरमा रहेको खानीगाउँको दैलातुंग र वडा नम्बर ६ स्थित यम्घाको दर्पुकमा सीमान्तकृत बोटे समुदाय बस्छन्। यी दुवै गाउँ कालीगण्डकीको किनारमै छन्। दैलातुंगमा बोटे समुदायका ३२ घर र दर्पुकमा ८० घर छन्। अहिले दैलातुंगमा बोटे समुदायको जनसंख्या १५० छ भने दर्पुकमा तीन सय ५० हाराहारीमा छ।

त्यस्तै तानसेन नगरपालिकाको बौघागुम्हा, रामपुर नगरपालिकाको रामपुर र दर्छा तथा रम्भा गाउँपालिकाको हुँगीमा पनि बोटे समुदायको बसोबास छ। यी सबै बस्ती कालीगण्डकी किनारमै पर्छन्।

विसं २०६८ सालको जनगणनाअनुसार देशभर बोटे जातिको जनसंख्या १० हजार छ। पाल्पामा आठ सय तीन छ। पाल्पाबाहेक चितवन, उदयपुर, मकवानपुर, तनहुँ लगायतका जिल्लामा बोटे जातिको बसोबास पाइन्छ । (रासस)

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस