भारतीय हेपाह प्रवृत्तिले साम्राज्यवादको असलि चरित्र उदाङ्गो भयाे : मिलन राई

दार्चुलामा एक बालकको ज्यान जाने गरि भारतले गरेको विष्फोटलाई नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईले भारतीय हेपाह प्रवृत्तिले साम्राज्यवादको असलि चरित्र उदाङ्गो भएकाे बताउनुभएको छ । उहाँले एक विज्ञप्ति जारी उक्त घटनाको भत्सर्ना एवम् निन्दा समेत गर्नुभएको छ । उहाँले निकाल्नु भएको प्रेस विज्ञप्ति जस्ताको त्यस्तै :
“हाम्रो संगठन अखिल (क्रान्तिकारी) नेपालको राष्ट्रियता, सार्वभौमिकता, नेपाली जनताका आत्मसम्मान र स्वाभिमानका लागि निरन्तर आवाज उठाउदै र संघर्ष गर्दै आईरहेको छ ।
हाम्रो छिमेकी मुलुक भारतले नेपाल माथि निरन्तर हस्तक्षेप, अतिक्रमण र हेपाह प्रवृत्ति देखाउदै आएको छ । लामो समयदेखि हाम्रो भारत सङ्ग सीमा जोडिएको दार्चुला जिल्लामा भारतको अतिक्रमण र हस्तक्षेप चलिरहेको छ । दार्चुला जिल्लाको व्यास गाउँपालिका -०२ दुम्लिङको महाकाली नदि क्षेत्रमा सडक निर्माण कार्यका लागि भारतीय पक्षद्वारा बम विस्फोट गराउदा व्यास गाउँपालिका-२ दुम्लिङका कक्षा ०३ मा अध्ययन गर्ने ०९ वर्षीय बालक पवन महराको मृत्यु भएको छ र केही मानिस घाइते भएका छन । यस घटनाले फेरि भारतीय साम्राज्यवादको असलि चरित्र उदाङ्गो भएको छ । हाम्रो संगठन यस घटनाको कडा निन्दा र भत्सर्ना गर्दछ । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा निर्माण कार्य गर्दा दुई देश बीच आपसी सहकार्य गर्ने , विस्फोट गराउदा पुर्व सूचना जारी गरि त्यो क्षेत्रमा आवतजावत रोक्ने, सुरक्षा प्रबन्ध मिलाउने अनिवार्य सर्त हुन्छन तर कुनै पनि सुचना जारी नगरी दादागिरी र हेपाह शैलीमा भारतले एकपक्षीय ढङ्गबाट सडक निर्माण कार्यका लागि विस्फोट गराउदा आज फेरि मानवीय क्षति बेहोर्नु परेको छ । यस्ता अवैधानिक गतिविधि रोक्न हामी भारत सरकारलाई चेतावनी दिन चाहान्छौं। पटकपटक दार्चुला जिल्लाको सीमाक्षेत्रमा भईरहेको भारतीय हस्तक्षेपको समस्या हल गरि समाधान निकाल्न नेपाल सरकारसंग आग्रह गर्दछौं ।
साथै यस घटनाको सत्यतथ्य छानबीन गरि दोषीलाई सजायको भागेदार बनाउन सम्बन्धित निकायसंग माग गर्दछौं । उक्त घटनामा ज्यान गुमाएका ०९ वर्षिय बालक पवन महराको परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछौं । भारतीय साम्राज्यवाद को अतिक्रमणकारी नीति , हस्तक्षेप र दादागिरीका विरुद्धमा प्रतिरोध संघर्षमा उत्रिन सम्पूर्ण युवा विद्यार्थी र आम नेपाली जनसमुदायमा अपिल गर्दछौं ।”

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस