चिन हाक्न महासचिव सि चिनफिङ सहितको ७ सदस्यीय स्थायी समिति निर्माण

अबको चिन हाक्न महासचिव सि चिनफिङ सहितको ७ सदस्यीय स्थायी समिति निर्माण गरेको छ । स्थायी समितिमा ली चियाङ, चाउ ले जी, वाङ हुनिङ, चाई ची, तिङ से साङ र ली सी चयन भएका छन् । पार्टीको महाधिवेशनबाट तेस्रो कार्यकालका लागि पुनः शक्तिमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी पाँच वर्षसम्म देशमा शासन गर्नका लागि स्थायी समिति निर्माण गरेको छ । केन्द्रीय कमिटीले दोस्रो नेताका रूपमा ली चियाङलाई चयन गरेको छ । आइतबार बसेको पहिलो केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्दै ‘द ग्रेट हल अफ दि पिपुल’ मा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति सीले स्थायी कमिटीकाे परिचय गराएका हुन् ।

चिनमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को उच्च निकायका रूपमा रहने स्थायी समिति चीनको राष्ट्रपतीय क्याबिनेट मानिन्छ । आफ्नो स्थायी समितिकाे परिचय गराउँदै सीले आइतबार छोटो मन्तव्य दिएका थिए र पार्टीले आफूलाई विश्वास गरेकोमा धन्यवाद समेत दिएका थिए । राष्ट्रपति सीलाई तेस्रोपटक पार्टी महासचिवमा निर्वाचित गरेको केन्द्रीय कमिटीले दोस्रो नेताका रूपमा ली चिआङलाई चयन गरेको छ । योसँगै उनी चीनको नयाँ प्रधानमन्त्री बन्नेछन् । लीलाई प्रधानमन्त्रीमा बढुवा गरिएसँगै चीनको राजनीतिमा केही संरचनागत फेरबदल भएको र राष्ट्रपति सीमा थप शक्ति केन्द्रीकृत भएको देखिएको छ । ‘केन्द्र सरकारमा केही अनुभव नभई प्रदेश वा नगरको जिम्मेवारीबाट सिधै प्रधानमन्त्रीमा बढुवा हुने ली चियाङ पहिलो अधिकारी हुन् । मन्त्रिपरिषद्को अनुभव नभएका कारण ली सम्पूर्ण रूपमा राष्ट्रपति सीमा निर्भर रहनुपर्ने विश्लेषकहरूको दाबी छ । आफ्नो नयाँ टोली सार्वजनिक गर्दै राष्ट्रपति सीले चीन र विश्व समुदायको विकासका लागि एकअर्काको सहयोग अपरिहार्य भएको बताएका छन् । पाँच वर्षअघि १९ औं महाधिवेशनले अपनाएको सी विचारधारालाई झनै सशक्त बनाउँदै २० औं महाधिवेशनले ‘चिनियाँ भविष्यको मार्गदर्शक सिद्धान्त’ का रूपमा पारित गरेपछि विश्व अर्थतन्त्रबाट चीन विश्व समुदायको टिप्पणीपछि सीले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

ली चिआङ

पार्टीको दोस्रो वरीयतामा रहेका ली सांघाईका पार्टी प्रमुख हुन् । प्रविधि र आर्थिक विकासमा उदाहरणीय काम गरेका ली राष्ट्रपति सीसँग निकै नजिक मानिन्छन् । ६३ वर्षीय ली यसअघि उनको सचिवालयमा प्रमुखका रूपमा समेत काम गरेका थिए । सांघाईमा गरिएको दुईमहिने लकडाउनको नेतृत्व लिएका ली संक्रमण रोक्नसमेत सफल भएका थिए । लीले अब देशको अर्थतन्त्रको नेतृत्व गर्नेछन् ।

चाउ लेजी

केन्द्रीय अनुशासन निरीक्षणसम्बन्धी आयोगका प्रमुख चाउ चिनियाँ राजनीतिमा ‘उदाउँदो तारा’ मानिन्छन् । चिङ्घाई प्रान्तको सरकारमा सहभागी भएसँगै राजनीतिमा खुड्किलो चढेका उनी ४२ वर्षको उमेरमा प्रान्तीय गभर्नर भएका थिए । उनी सबैभन्दा कम उमेरमा गभर्नर बन्ने व्यक्ति हुन् । ६३ वर्षीय चाउ हाल भ्रष्टाचार नियन्त्रण निकायको प्रमुख छन् । दलमा अनुशासन कायम गर्ने प्रमुख दायित्व निर्वाह गरेका उनले घूस स्वीकार गर्ने कैयौं वरिष्ठ अधिकारीलाई कारबाहीसमेत गरेका छन् ।

वाङ हुनिङ

६७ वर्षीय वाङ हाल पार्टी सचिवालयका प्रमुख सचिव हुन् । पूर्वप्राध्यापक वाङ पार्टीका वरिष्ठ नेताहरूको आँखामा परेपछि राजनीतिमा प्रगति गरेका हुन् । नेताहरूले सिफारिस गरेपछि उनले पूर्वराष्ट्रपति जियाङ जेमिनका परामर्शदाताका रूपमा काम गरेका थिए । पार्टीको राजनीतिक सिद्धान्तकारका रूपमा उनले कम्युनिस्ट पार्टीका अवधारणा तथा तीन जना राष्ट्रपतिहरू जियाङ जेमिन, हु जिन्ताओ र सी चिनफिङका विचारधाराका निर्माणमा उनको प्रमुख भूमिका रहेको छ । त्यसका साथै, चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ उनको योजना भएको बताइन्छ ।

चाई ची

हाल बेइजिङका मेयर रहेका ६६ वर्षीय चाई राष्ट्रपति सीका निकै निकट मानिन्छन् । फुजियान र झाजियाङ प्रान्तमा सीको नेतृत्वमा काम गरेका उनी सीप्रति निकै बफादार मानिन्छन् । कोरोना भाइरसको महामारीबीच बेइजिङले सफलतापूर्वक हिउँदे ओलम्पिक सम्पन्न गर्नु उनको सफलता मानिएको छ ।

तिङ सेसाङ

चिनियाँ पार्टीका महासचिव र राष्ट्रपतिको कार्यालयका निर्देशक तिङ अनुभवी इन्जिनियर हुन् । उनले सांघाईस्थित सरकारी अनुसन्धान केन्द्रबाट आफ्नो राजनीतिक करियर सुरु गरेका हुन् । ६० वर्षीय तिङ सन् २०१४ देखि राष्ट्रपतीय कार्यालयका प्रमुख छन् ।

ली सी

गुवाङडोङ प्रान्तका पार्टी सचिव ली राष्ट्रपति सीको परिवारसँग पनि निकट छन् । सन् २०१७ मा लियाओनिङ राज्यमा गलत तथ्यांकका कारण भएको आर्थिक काण्ड सुल्झाउन उनले प्रमुख भूमिका खेलेका थिए । उनले आफ्नो प्रान्तमा प्रविधिमा आधारित उद्योगको विकास र आर्थिक सुधारका लागि उल्लेखनीय कार्य गरेका थिए । तस्बिर : कान्तिपुर

प्रकाशित मिति : २०७९ कार्तिक ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस