
रुपन्देही जिल्लाका पाँच स्टिल उद्योग बन्द भएका छन् । पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, रत्ना आइरन, फेरो स्टिल र गोयन्का स्टिल पूर्ण रूपमा बन्द भएका छन् । कच्चा पदार्थ आयातमा सरकारले बढाएको अन्तःशुल्कका कारण बिलेटबाट फलामे डण्डी उत्पादन गर्ने रुपन्देहीका ५ उद्योग बन्द भएका छन् । सरकारले स्पन्ज आइरन नर बिलेट आयातमा लगाएको अन्त शुल्कका उद्योगीहरु उक्त शुल्क तिरेर कम्पनी चलाउन नसक्ने भन्दै उद्योग बन्द गरेका छन् । उक्त उद्योगहरुले भारत तथा तेस्रो मुलुकबाट बिलेट आयात गरी फलामे डण्डी बनाउँदै आएका थिए ।
सरकारले आर्थिक वर्षको बजेट ल्याउँदा नै फलामे डण्डी उत्पादन गर्ने कच्चा बिलेट र एमएस वायरमा भन्सार र अन्तःशुल्क कर थपेपछि एसआर स्टिल साउन १ गतेदेखि भने अरु उद्योग असोजदेखि बन्द भएका हुन् । यी उद्योग बन्द भएसंगै उद्योगमा कार्यररत दुई हजार मजदुरको रोजगारी समेत गुमेको छ । सरकारले फलामे डण्डी उत्पादन गर्ने कच्चा बिलेट र एमएस वायरमा भन्सार र अन्तःशुल्क थप गरेको थियो । बिलेट आयातमा ४.७५ प्रतिशत भन्सार दर कायम गरी भन्सार बिन्दुमै प्रति मेट्रिक टन २ हजार ५ सय रुपैयाँ लाग्दै आएको अन्तःशुल्कलाई बढाएर ३ हजार ५ सय कायम गरेको छ । त्यस्तै एमएस वायरको साविकको ५ प्रतिशत भन्सार महशुललाई वृद्धि गरी १० प्रतिशत पुर्याइएको छ । त्यस्तै भन्सार बिन्दुमै लगाइँदै आएको प्रति मेट्रिक टन २ हजार ५ सय रुपैयाँ अन्तःशुल्कलाई बढाएर ४ हजार ५ सय पुर्याइएको छ ।