शान्तिपूर्ण निर्वाचन बहिस्कार कार्यक्रममा प्रहरी हस्तक्षेप,१४ जना नेता कार्यकर्ता गिरफ्तार

नेकपा (क्रान्तिकारी माओवादी)को निर्वाचन बहिस्कार कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । पार्टीका पीवीएम तथा लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेको नेतृत्वमा शान्तिपूर्ण रुपमा निर्वाचन बहिस्कार अभियान लिएर अर्घाखाँची पुगेको टोलीले सन्धिखर्कको खुदवाङमा कोणसभाको तयारी गर्दै गर्दा प्रहरीले हस्तक्षेप गरी नेपा भुपेन्द्रसहित १४ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको हो ।

गिरफ्तार पर्नेहरुमा पार्टीका पीवीएम तथा प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपाने, पार्टी केस तथा प्युठान–रोल्पा इन्चार्ज टिकाराम पौडेल, पार्टी केस लक्ष्मी चौलागाई, लुम्बिनी प्रदेश सदस्य विराट शाही, अर्घाखाँची सेक्रेटरी टकमान राउत, दाङ जिल्ला सदस्य कमरेड मोहन, अखिल (क्रान्तिकारी)का केस मनोज थापा, परासी जिल्ला सदस्य दर्गानारायण चौधरी, कपिलवस्तु जिल्ला पार्टी सदस्य कमरेड छोटु, परासी जिल्ला सदस्य वसन्त, बाँके जिल्ला सदस्य राजेन्द्रा शाही, प्युठान जिल्ला सदस्य चन्द्र पोखरेल, अर्घाखाँची जिल्ला सदस्य नमबहादुर घर्ती, र प्युठान जिल्ला पार्टी समर्थक प्रकाश बस्नेत हुनुहुन्छ ।

माथिको आदेश भन्दै चुनाव विरोधी कार्यक्रम गरेकोले गिरफ्तार गरेको प्रहरीले जनाएको छ । चौतर्फी रुपमा दबाब परेपछि गिरफ्तार नेताकार्यकर्तालाई केही समयअघि छाडिएको छ । रिहा भएलगत्तै अभियान टोलीले अर्घाखाँचीको सन्धिखर्कमा निर्वाचन बहिस्कार कोणसभा सम्पन्न गरेको छ । कोणसभाको सञ्चालन अखिल (क्रान्तिकारी)का केस मनोज थापाले गर्नुभएको थियो भने कार्यक्रमलाई सम्बोधन नेता न्यौपानेले गर्नुभएको थियो । नेता न्यौपानेले शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले गरेको हस्तक्षेप र गिरफ्तारीको घोर विरोध गर्दै निर्वाचन बहिस्कार अभियानलाई अझ सक्रियतापूर्वक प्रदेशका सबै जिल्लाहरुमा सञ्चालन गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ असोज २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस