विप्लवको महाधिवेशन चलिरहदाँ महाधिवेशन स्थलकै कार्यकर्ताहरु नेकपा(बहुमत)मा प्रवेश

कपिलवस्तुको शिवगढीमा नेकपा (विप्लव)को महाधिवेशन चलिरहदाँ महाधिवेशन स्थल कपिलवस्तु जिल्लामा रहेका उनको पार्टीका कार्यकर्ताहरु भने नेकपा (बहुमत)मा प्रवेश गरेका छन् । जिल्लाको वाणगङ्गाबाट विप्लव नेतृत्वको नेकपाबाट कयौँ नेता–कार्यकर्ता नेकपा(बहुमत)मा प्रवेश गरेका हुन् । नेकपा(विप्लव) र नेकपा(एमाले)का गरी २ दर्जन कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश गरेको बताइएको छ ।

विप्लव नेतृत्वको नेकपाबाट वाणगङ्गा नगरसमितिमा रहेका नाथुराम थारू, डिस्को थारू, तिलकराम थारू, गिन्तीराम थारू, विष्णु थारू, रामलखन लोहार, सुरजकुमारी थारू, विष्णु थारू, फूलकुमारी थारू, लक्ष्मी थारू, अजयकुमार मिश्र, मुकेश यादव, चकदार थारू, सुग्रीम थारू, देववहादुर थारू, रामकेशव थारूलगायत रहेका छन् । यस्तै नेकपा(एमाले) परित्याग गरी नेकपा (बहुमत) प्रवेश गर्नेहरूमा मोहन थारू, राजाराम थारू र मीना विक रहेका छन् ।

नेकपा (विप्लव) र नेकपा(एमाले) छोडेका कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै नेकपा (बहुमत) का सचिवालय सदस्य शार्दूलले संसदीय व्यवस्थाले जनताका पक्षमा काम नगर्ने भएकाले यो व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सबै क्रान्तिकारीहरूको एकता अनिवार्य भएको बताए । 

संसदीय पार्टीहरू जनतालाई लुटिखाने पार्टी भएकाले यो व्यवस्था मुठीभर मान्छेहरूको हितमा रहेको र यो व्यवस्था नफालेसम्म जनताको हित नहुने भएकाले यसलाई अन्त्य गर्नुपर्ने उनले बताए । यो व्यवस्था बहुसङ्ख्यक श्रमजीवी जनताको व्यवस्था नभएकाले यो व्यवस्थाले मङ्सिर ४ गते गराउने भनेको चुनाव आफ्नो पार्टीले अवज्ञा गर्ने निर्णय गरेको पनि उनले बताए ।

कार्यक्रमको सञ्चालन माया थापा र अध्यक्षता जिल्ला संयोजक संघर्षले गरेका थिए । मङ्गलबार सम्पन्न पार्टी प्रवेश कार्यक्रममा जिल्ला इन्चार्ज शेरमान, ब्युरो सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज मिलन लगायतका अतिथि थिए भने नवप्रवेशीका तर्फबाट नाथुराम थारूले बोलेका थिए ।

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस