नाैं माेर्चाद्धारा निर्वाचन अायाेगलाई भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन अाह्वान

विभिन्न नाैं माेर्चाद्धारा निर्वाचन अायाेगलाई भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन अाह्वान गरेको छ । अाज नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट विभिन्न जनवर्गीय संगठन र माेर्चाहरुले “अर्थतन्त्रलाई धराशायी बनाउने अपराधमा संलग्न भैरहेका छन् । गाउँ–सहर सबैतिर फैलिएको मिटरब्याजी अर्थतन्त्र त्यसको एउटा ज्वलन्त प्रमाण हो । न्यायालय तिनै दलालहरू र पैसावालहरूको अपराधलाई धोइपखाली गर्ने ‘पवित्र स्थल’ बनेको छ । धनी र गरिबबीचको खाडल निकै बढिरहेको छ । देशको अर्थतन्त्रमा आफ्नो वर्चस्व कायम गरेका दस प्रतिशत धनी व्यक्तिहरूको हातमा सबैभन्दा गरिब ४० प्रतिशत मानिसहरूको भन्दा २६ गुणा ज्यादा सम्पत्ति थुप्रिएको छ । सामाजिक र सांस्कृतिक क्षेत्रमा विभेद र असमानता चरम छ । यो स्थिति जबसम्म रहिरहन्छ तबसम्म जनताको हितविरुद्ध प्रयोग हुने यसखाले निर्वाचनको नौटङ्की औचित्यहीन रहिरहनेछ ।” भन्दै विज्ञप्ति जारी गरेको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अतः जनमतको न्यूनतम सम्मान गर्न हरेक राजनीतिक पार्टीले लागू गर्ने गरी तपसिलका व्यक्तिहरूलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउन कडाइपूर्वक रोक लगाइयोस् भन्ने अनुरोधका साथ यो पे्रस विज्ञप्ति जारी गर्दछौँ : १) भ्रष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरू २) मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरू ३) ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरू ४) शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरू ५) एमसीसीलगायत राष्ट्रघाती सन्धि–सम्झौताहरू गर्ने व्यक्तिहरू ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘संसदीय प्रणालीको निरन्तरताअन्तर्गतका चुनावमा सहभागी हुनु जनता स्वयम्ले आफूलाई धोका दिनु वा मूर्ख बनाउनु मात्र हो । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लक्ष्यसहित स्वाधीन संयुक्त सरकारको तत्कालीन कार्यनीतिअन्तर्गत आसन्न संसदीय चुनाव अवज्ञाको कार्यक्रम तय गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र न्याय प्रमुखको व्यवस्था, प्रत्येक नागरिकलाई जमिनमाथिको जन्मसिद्ध अधिकारको व्यवस्था, शिक्षा–स्वास्थ्यको निःशुल्क व्यवस्था तथा आवासविहीन नागरिकहरूलाई आवासको सुनिश्चिततासहित शान्ति, समृद्धि र स्वाधीनता स्थापित गर्ने पार्टी नीति तथा कार्यक्रमहरूप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ । देश र जनताका पक्षमा बोल्न र लड्न हामी सम्पूर्णमा हार्दिक अपिल गर्दछौँ ।’

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस