
हराएका सीमास्तम्भ खोजि गर्ने निर्णय गर्दै नेपाल-भारत सिमा अधिकारीहरुकाे बैठक सम्पन्न भएको छ । धनुषा-जनकपुरमा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकले हराइरहेका सीमास्तम्भ खोजी गर्ने निर्णय गरेको हाे । शनिबार बसेको नेपाल–भारत सीमा अधिकारीहरूको संयुक्त बैठकमा हराइरहेको सीमास्तम्भ खोजी गर्ने, सीमामा हुने अपराध, फेक करेन्सी, अतिक्रमण, लागूऔषध ओसारपसार नियन्त्रण गर्ने निर्यणहरु बैठकले गरेको छ । सीमामा हुने अपराध कसरी नियन्त्रण गर्ने, लागूऔषध सम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमा स्तम्भहरुको अवस्था कस्तो छ ? मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायमा पहल गर्ने, हराएको भए खोजी गर्नेलगायत विषयमा निर्णय दुई देशका अधिकारीहरु बसेर गरिएको छ ।
नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय भएको छ । नेपाली सीमा अतिक्रमण भएको तथा पुल निर्माणमा भारतीय सुरक्षाकर्मीको तर्फबाट पुल निर्माणमा अवरोध भइरहेको गुनासो आउन थालेपछि मधेश प्रदेशसँग जोडिएका नेपाल-भारत सीमाक्षेत्रतर्फ सीमास्तम्भ खोजी तथा जीर्ण रहेकालाई मर्मत सम्भारसमेत गरिने भएको छ । उक्त बैठकमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको उपस्थिति थियो । भारततर्फबाट मधुवनी जिल्लाका जिल्ला अधिकारी अरविन्द कुमार वर्मा, विहार प्रहरी, एसएसबीलगायत सुरक्षाकर्मीहरु सहभागी भएका थिए ।
तस्बिर : कान्तिपुर