
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर दिएको छ । चीनसँग सीमा जोडिएको उक्त स्थानीय तहको विकास निर्माणका लागि चीनले सो स्काभेटर अनुदानमा उपलब्ध गराएको हो । फक्ताङलुङ गाउँपालिका–७ ओलाचुङगोलामा रहेका टिप्ताला नाका बन्द रहेकाले सिन्धुपाल्चोक जिल्लाकाे तातोपानी नाकाबाट गत साता फक्ताङ्लुङ गाउँपालिकामा स्काभेटर ल्याइपुर्याएको फक्ताङलुङ गाउँपालिकाले जानकारी दिएको छ ।
तातोपानी नाकादेखि दुई दिन लगाएर एक करोड ३५ लाख रुपैयाँ बराबरको मुल्य पर्ने स्काभेटर गाउँपालिका पुर्याईएकाे हाे । चीनदेखि नेपाल ल्याउनका लागि लाग्ने भन्सार शुल्क २५ लाख रुपैयाँ नेपाल सरकारले छुट दिएको छ । नेपाल सरकारले भन्सार शुल्क छुट दिए पछि तातोपानी नाकादेखि ढुवानी शुल्क मात्र गाउँपालिकाले तिरेर उक्त स्काभेटर ल्याएको हाे ।
प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार