प्रधानमन्त्री देउवा अमेरिका जाने साे भन्दा अगाडि प्रधानसेनापति पर्शुराम शर्मा जाँदै

असारमा प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जानु हुने भएको छ । असारकाे अन्तिम सातातिर अमेरिका भ्रमण गर्ने तयारी सुरु भएको छ । नेपालको सरकार प्रमुखबाट दुई दशकपछि अमेरिका भ्रमण हुन लागेको हो । यसअघि देउवाले नै २०५९ वैशाख २३–२८ मा प्रधानमन्त्रीका रूपमा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यसयता नेपालबाट त्यो तहमा उच्चस्तरको भ्रमण हुन सकेको थिएन् । देउवा भ्रमणमा जानु अघि प्रधानसेनापति पर्शुराम शर्मा जाने भएका छन् । सैनिक स्रोतका अनुसार शर्माले असारको पहिलो वा दोस्रो साता भ्रमण गर्ने गृहकार्य भइरहेको छ । शर्मा अमेरिका भ्रमणको दौरान संयुक्त राष्ट्रसंघमार्फत नेपाल शान्ति स्थापनामा संलग्न इजरायललगायतका केही मुलुकमा पनि पुग्ने समेत स्रोतले जनाएको छ ।

उनी फर्किए लगत्तै देउवा जाने तयारी भएको छ ।नेपाल–अमेरिका ७५ वर्षगाँठको अवसरमा दुवै पक्षको सहमतिअनुसार प्रधानमन्त्री देउवाको भ्रमणसम्बन्धी गृहकार्य दुवैतर्फ चलिरहेको कूटनीतिक स्रोतले बतायो ।
नेपालले आउने कात्तिक/मंसिरलाई आधार मानेर संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने र त्यसको करिब १ सय २० दिनअघि नै निर्वाचन घोषणा गर्नुपर्ने भएकाले देउवाको भ्रमण छिट्टै हुन लागेको जनाएको छ । निर्वाचन घोषणा भएपछि प्रधानमन्त्री औपचारिक भ्रमणमा जान मिल्दैन । प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले भ्रमणका सम्बन्धमा दुवै पक्ष सकारात्मक रहेको बताए ।

विश्लेषकहरुका अनुसार अहिले नेपालमा MCC पास भए लगत्तै अमेरिक प्रमुखको भ्रमण नभएता पनि अमेरिकी उच्च अधिकारीहरुकाे भ्रमण लगातार भएको बताउछन् ।अमेरिकाबाट उच्च तहको नेपाल भ्रमण नभए पनि पछिल्लो समय अमेरिकी अधिकारीहरूको भ्रमण बाक्लिएको छ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जियाले यही जेठ ६–८ मा नेपालको भ्रमण गरेकी थिइन् । उनीसँगै अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि आएकी थिइन् । नेपालबाट भने राजा महेन्द्र शाहले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा) र राजा वीरेन्द्र शाहले एक पटक (सन् १९८३ मा) राजकीय भ्रमण गरेका थिए । त्यसपछि नेपालबाट राष्ट्र प्रमुख वा सरकार प्रमुखका रूपमा २०५९ मा देउवाले अमेरिकाको औपचारिक भ्रमण गरेका हुन् । नेपालबाट पछिल्लो पटक चार वर्षअघि सन् २०१८ मा (२०७५ पुस ३–५) तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस