
शल्यक्रियामा लापरबाही भएको ठहरपछि अमेरिकामा अध्ययन गर्ने एक नेपाली विद्यार्थीले ११ करोड १० लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने भएका छन्। यो १३ अर्ब ७६ करोड रूपैयाँ बराबर हुन्छ। अमेरिकाको मिनियसोटास्थित अदालतले नेपाली विद्यार्थी अनुज थापालाई उक्त रकम बराबर क्षतिपूर्ति तिर्न त्यहाँको सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालका नाममा आदेश दिएको हो। मिनियसोटा अदालतले गत साता गरेको उक्त फैसला राज्यको अहिलेसम्मकै ठूलो व्यक्तिगत क्षतिपूर्ति हुनसक्ने अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी) ले जनाएको छ।
एपीका अनुसार २५ वर्षीय नेपाली विद्यार्थी थापाले सन् २०१९ मा अस्पतालविरूद्ध क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेका थिए। उनी मिनियसोटाकै सेन्ट क्लाउड विश्वविद्यालयमा पढ्छन्। सन् २०१७ जनवरीमा कलेजभित्र फुटबल खेल्दा उनको देब्रे खुट्टा भाँच्चिएको थियो। त्यति बेला थापा पहिलो वर्षका विद्यार्थी थिए।
थापाले अदालतमा दिएको उजुरीअनुसार त्यसै रात डा. होलियनकै नेतृत्वमा उनको खुट्टा शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएको भोलिपल्ट बिहान खुट्टा सहनै नसक्ने गरी दुखेको, भित्रभित्रै जलन भएको र मांसपेसीका अन्य भागमा पनि समस्या आएको थापाले उजुरीमा भनेका छन्। तीव्र दुखाइका बाबजुद त्यसै दिन बेलुकी थापालाई अस्पतालबाट डिस्चार्ज गरियो। घर पुगेपछि उनको पीडा बल्झँदै गयो। उनी सहेर बस्न सकेनन्। छ दिनपछि फेरि अस्पताल भर्ना भए।
दोस्रोचोटि अस्पताल भर्ना भएपछि हाडजोर्नी विभागकै अर्का डाक्टरले उनको जाँच गर्यो। जाँचपछि पछिल्लो छ दिनयता उनको खुट्टामा हड्डी र मांसपेसीको समस्या आएको थाहा भयो। उक्त समस्या निवारण गर्न अहिलेसम्म कम्तीमा १२ पटक शल्यक्रिया गरिएको एपीले जनाएको छ । पटकपटक शल्यक्रिया गर्दा पनि समस्या कम भएन। बरू झन् झन् बढ्दै गयो र अन्ततः उनको खुट्टा चलाउन नसक्ने भयो। उनी सामान्य अवस्थामा जस्तो हिँडडुल गर्न असमर्थ भए।
त्यसपछि सन् २०१९ मा थापाले सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालमा शल्यक्रिया गर्दा चिकित्सकीय लापरबाहीका कारण आफू शारीरिक रूपले अपांगता भएको दाबी गर्दै मिनियसोटा अदालतमा मुद्दा हाले। उनले शल्यक्रियामा भएको लापरबाहीबापत् क्षतिपूर्ति माग गरेका थिए। करिब दुई वर्ष लामो सुनुवाइपछि मिनियसोटा अदालतले थापाको पक्षमा फैसला गरेको हो ।