
काठमाडौं : नेपाललाई प्रतिबन्धकाे सूचीबाट हटाउन ईयुसंग माग गरिएको छ । अाज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच मन्त्रालयमा भेटवार्ता गर्दै उक्त माग अगाडि सारेका हुन् । मन्त्री आले तथा राजदूत डिप्रेजबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले इयुको सेफ्टी लिष्ट (प्रतिबन्ध) बाट नेपाललाई कसरी हटाउने भन्ने विषयमा छलफल भएको बताईएकाे छ ।
भेटका क्रममा मन्त्री आलेले राजदूत डिप्रेजलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओले नेपालको उडान सुरक्षाका आठ क्षेत्रमा नियामक निकायको हैसियतमा पालना गरेका कार्यको परीक्षणमा परिपालना दर प्रारम्भिक नतिजाअनुसार ७०.१ प्रतिशत रहेको र यो दर विश्वका अन्य देशका तुलनामा औसतभन्दा बढी भएकाले नेपाली आकास सुरक्षित रहेको बताए । उनले “आइकाओको नतिजाअनुसार नेपाली आकास सुरक्षित रहेको भन्ने देखाएको छ, अब नेपाल इयुको प्रतिबन्ध सूचीबाट हट्नुपर्छ ।”
आठ वर्षअघिबाट इयुले नेपालको हवाई सुरक्षा कमजोर भएको मूल्याङ्कन गर्दै कालोसूचीमा राखेको हो । उता नेपालले हवाई सुरक्षाका क्षेत्रमा राम्रो सुधार गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओले नेपालको नाम आफ्नो कालोसूचीबाट हटाइ सकेको छ । इयुले नेपालको हवाइ क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम पाइलटको योग्यता र तालिम हुनुपर्ने जनाएको थियो ।
सोही भेटवार्ताका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई प्रदीपकुमार अधिकारीले हाल प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको मापदण्डअनुसार पाइलटको योग्यता र तालिम व्यवस्थित रहेको जानकारी पनि गराएका थिए । हाल नेपाल वायुसेवा निगम, बुद्ध एयर र हिमालय एयरलाइन्स गरी तीन वटा नेपाली वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्ने गरेका भए पनि इयुको कालोसूचीबाट नहटेसम्म युरोप उडान गर्ने अवस्था नभएको बताइएको छ ।