चिन र नेपाल बिच भएका सहमति-सम्झौता कार्यान्वयन गर्न सहमति

काठमाडौं : बीआरआईअन्तर्गतका कार्यक्रम अघि बढ्न नसकेको अवस्थामा दुवै पक्षबाट उच्चस्तरीय भ्रमणमा समेत जोड दिदै नेपाल र चीन हालसम्म भएका सहमति र सम्झौता समयमै कार्यान्वयन गर्न सहमत भएका छन् । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १४ औं बैठकमा बुधबार दुवै मुलकका अधिकारीबीच उक्त सहमति बनेको हो । नेपालका तर्फबाट विदेश सचिव भरतराज पौड्याल र चीनका तर्फबाट सहायक विदेशमन्त्री वु जियाङ्हाओ नेतृत्वको प्रतिनिधिमण्डलबीच द्विपक्षीय सम्बन्धलाई थप प्रवर्द्धन र पारस्परिक हितमा सहयोग गर्नेबारे विचार आदान–प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘दुवै पक्ष व्यापार, पारवहन, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति, जनस्तरमा सहयोग आदान–प्रदान लगायतका विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्न सहमत भएको छ ।

नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका कार्यक्रम अघि बढ्न नसकेको पृष्ठभूमिमा दुवै पक्षले उच्चस्तरीय भ्रमणमा समेत जोड दिएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले गत वर्षको चैत ११–१३ सम्म नेपाल भ्रमण गरेका थिए । त्यस क्रममा चिनियाँ पक्षले बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई आग्रह गरेको थियो । नेपालले भने अनुदान, सहुलियत ऋण र लगानीलाई मात्र स्वीकार गर्ने तर ‘व्यावसायिक’ ऋण स्वीकार नगर्ने बताएपछि कार्यान्वयन सम्झौता हुन सकेको थिएन । सम्झौता गरिसकेपछि कार्यान्वयनमा कटिबद्ध नरहने प्रवृत्ति औंल्याउँदै चीनले औपचारिक र अनौपचारिक रूपमा नेपालसामु असन्तुष्टि व्यक्त गर्दै आइरहेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अघिल्लो महिना पत्रकार सम्मेलन गरी बीआरआई अनुदान सहायता नभएको प्रस्ट पारेकी थिइन् । नेपालमा शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकारले बीआरआईमार्फत अनुदान, सहुलियत ऋण र लगानी मात्र स्वीकार गर्ने चीनलाई सन्देश प्रवाह गरिरहेका बेला राजदूत होउले बीआरआई अनुदान सहायता नभएको प्रस्ट पारेकी थिइन् । राजदूत होउले बीआरआई सहयोग र सहकार्यको मोडालिटी रहेको बताएकी थिइन् । उनलेे थप जाेड दिदै भनेकि थिईन् ‘बीआरआई सहयोग र सहकार्यको मोडालिटी हो, जसमा अनुदान र व्यावसायिक ऋण हुन्छ´

चीनमा सी चिनफिङको उदयपछि सन् २०१३ मा ‘वान बेल्ट वान रोड’ (ओबीओआर) परियोजनालाई अघि बढाइएको थियो । जसलाई पछि बीआरआईको नाम दिइयो । नेपाल सन् २०१७ मा बीआरआईको सदस्य मुलुक बनेपछि लगत्तै चीनलाई त्यसअन्तर्गत निर्माण गर्न ३५ वटा परियोजनाको सूची पठाएको थियो । चीनले त्यसलाई एक अंकमा घटाएर पठाउन भनेपछि नेपालले ९ वटा परियोजना पठायो । जसलाई नेपालले आधिकारिक पुष्टि भने गरेको छैन । चिनियाँ पक्षले पनि ती परियोजनालाई नेपालले प्रस्ताव गरेको उल्लेख गरेको छैन । बैठकमा सचिव पौड्यालले काठमाडौं–कुनमिङ र काठमाडौं–छेन्दु रुटमा हवाई उडान पुनः नियमित गर्ने निर्णय गरेकोमा चीनलाई धन्यवाद दिएका छन् । कोरोनाका कारण रोकिएको उडान चीनले जेठ १६ पछि फेरि खोल्ने निर्णय गरिसकेको छ । यस्तै, नेपाली विद्यार्थी चीन फर्काउने तयारी गरेकोमा पनि चिनियाँ पक्षलाई उनले धन्यवाद दिए । उनले नेपाली व्यवसायी र उनीहरूका परिवारलाई पनि चीन फर्काउन सहजीकरण गर्न आग्रह गरे । चीनले नेपाली विद्यार्थी फिर्ता लैजाने विषयमा गृहकार्य गरे पनि हालसम्म लगेको भने छैन । कोरोना महामारी सुरु भएपछि नेपाल फर्केका विद्यार्थीहरू अझै यतै छन् । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा दुवै पक्षले नेपालको उत्तरी हिमाली क्षेत्रका सीमावर्ती जिल्लाहरूमा बसोबास गर्नेको जीवनस्तरमा सुधार ल्याउन सहयोगको स्तर बढाउन आवश्यक रहेकोमा जोड दिएको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस