
पृष्ठभूमि
२०६२/०६३ मा भएको दोस्रो संयुक्त जनअान्दोलनकाबाट नेपालमा निरङ्कुश शाही राजतन्त्रकाे अन्त्य हुदै संघिय लाेकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएकाे १६ बर्ष पुगिसकेको छ । जुन अान्दोलन महिला मुक्ति र स्वतन्त्रतका लाागि पटकपटक भएको आन्दोलनमा महिलाहरुकाे त्याग समर्पण बलिदानबाट सम्भव भएको हाे । यस गणतन्त्रकाे उदेश्य प्रजातान्त्रिक मताधिकार मार्फत नागरिकको पुर्ण रुपमा मानवअधिकारकाे ग्यारेन्टी गर्दै संविधानसभाबाट नेपालको संविधान जारी गरि जातीय,क्षेत्रीय,उत्पिडित,दलित र महिला लगायतका सम्पूर्ण क्षेत्र हक अधिकार उपलब्ध गराउनु हाे । प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संसदीय शासन प्रणाली मार्फत मुलुकमा संघीयताको पुर्ण कार्यन्यन गर्नु पनि हाे । समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सहित मुलुक तीन तहको संघीय संरचनामा गयाे । तीन तहको संघीय संरचनामा जनताको सबभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारमा निर्वाचित प्रतिनिधिहरु सहित सरकारका तीनवटै अंगको संरचना र शासकीय अभ्यास सहित अगाडि बढिरहेको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनले महिलाहरुको समेत शसक्त प्रतिनिधित्व र सहभागितालाई स्थापित र संस्थागत गर्यो । संविधानमा स्थानीय कार्यपालिका,स्थानीय व्यवस्थापिका र स्थानीय आर्थिक कार्यप्रणालीको व्यवस्था गरेको छ । संविधान, स्थानीय सरकार संचालन ऐन र नेपाल कानुन अनुसार सबै गाउँपालिका र नगरपालिकाको अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख मध्ये एकजना महिला अनिवार्य हुनुपर्ने,प्रत्येक वडामा निर्वाचित ५ जना मध्ये एक जना खुला महिला र एक जना दलित महिला अनिबार्य निर्वाचित हुनुपर्ने, गाउँकार्यपालिका र नगरकार्यपालिकामा महिला वडा सदस्य मध्ये क्रमश: ४ जना र ५ जना महिला कार्यपालिका सदस्यमा निर्वाचित हुनुपर्ने तथा कार्यपालिका र सभाबाट गठन हुने जुनसुकै समितिमा महिला सहित समावेशी प्रतिनिधित्व हुनुपर्ने व्यवस्था भएकाले स्थानीय तहमा कम्तिमा ४०% महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित भएको छ । तर यसको दायरालाई महिला र पुरुषको हकअधिकार बराबर बनाउन,५०% पुर्याउनका निमित्त संघर्षको अनिवार्य अावश्यकता देखिन्छ । जसलाई हामीले संघर्ष अनुसार अगाडि बढ्दै अहिले प्राप्त संविधान मार्फत अगाडि बढ्नुपर्ने हुन्छ ।
महिलाहरुको प्रतिनिधित्वको क्षेत्र र क्षमता
महिलाहरुको सहभागिता,उपस्थिति र प्रतिनिधित्व सबैतिर समान रुपमा सशक्त र प्रभावकारी भई नसकेको अवस्थामा स्थानीय तहमा महिलाहरुको सहभागिता निम्न क्षेत्रबाट प्रतिनिधित्व हुन सकेमा महिला सहभागीता उल्लेखनिय परिणाम हासिल हुन सक्छ ।
१) सक्रिय विभिन्न पार्टी राजनीति र विद्यार्थी राजनीतिबाट आएका महिलाहरु आफ्नो क्षमता,ज्ञान प्राप्त गरेका कारण देश र समाज बुझेका हुन्छन् ।
२) विभिन्न पार्टीका भातृ संगठन र जनबर्गीय संगठनहरुबाट आएका महिला जनप्रतिनिधिहरु पनि सशक्त र क्षमतावान छन् । उनीहरु आफ्नो जिम्मेवारी बहन गर्न सक्छन् ।
३) महिला अधिकारकर्मी,दलित/महिला अधिकारकर्मी, सामाजिक कार्यकर्ता,समाजसेवी, सामाजिक अभियान्ता आदिबाट आएका महिलाहरु समाज र सामाजिक समस्या बुझेका तथा महिलाका पीडा एवम समस्याहरु नजिकबाट देखेका बुझेका छन । समाजमा सजिलै घुलमिल भएर समस्या समाधान गर्न सक्छन् । उनिहरु महिला सशक्तीकरण, महिलाहरुको सीप तथा क्षमता बिकासको कार्य,विपदका समयमा तथ्यांक संकलन एवं राहत बितरण लगायतमा समेत राम्रो कम गर्न सक्छन ।
४) द्वन्द्व तथा अन्य कारणले सहिद/मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिका श्रीमती र तिनको परिवारका अन्य सदस्यबाट आएका महिलहरु राजनैतिक एवं सामाजिक चेतना राम्राे हुने भएको कारणले आफ्नो जिम्म्वेवारी कुशलता पुर्वक निर्वाह गर्न सक्छन । उनीहरुमा सहिदका अधुरा सपना पुरा गर्ने आकांक्षा समेत रहेको हुन्छ ।
५) स्वास्थ्य स्वयंसेविका,मातृशिसु कार्यकर्ता,शिक्षिका,बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताबाट आएका महिलाहरु समाज र बिशेष गरी गाउँठाउँका महिलाहरुसँग नजिक र अन्तरंग सम्बन्ध कायम गरेका हुनाले प्रभावकारी रुपमा काम गर्न सक्छन ।
६)संचारकर्मी, सामुदायिक वन,सहकारीकर्मी,शिक्षिका, अगुवा कृषक, उद्यमी ब्यबसायी महिलाहरू समाज र महिलासँग घुलमिल भएका तथा सामाजिक समस्या सम्बोधन गर्न सक्षम छन् ।
७) गैरसरकारी संघसंस्थामा आबद्ध पधाधिकारी तथा कर्मचारी, अस्थाई तथा करारका कर्मचारी, साबिकका वडा नागरिक मंच तथा नागरिक सचेतना केन्द्रका व्यक्तिहरु, आमा समुहका सदस्यहरु, महिला समूह तथा समूह समितिका पदाधिकारीहरु, साबिकमा स्थानीय बिकास कोष, गरीबसँग बिश्वेश्वर कार्यक्रम, स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रममा सहभागी महिला,महिला विकास बचत कार्यक्रम आदिका सामाजिक परिचालकबाट आएका महिलाहरु समाजमा गहिरोसँग घुलमिल भएका र समाजलाई राम्रोसँग बुझेका हुनाले आफ्नो भूमिका तथा जिम्मेवारी कुशलतापुर्वक सम्हाल्न सक्छन् ।
महिलाहरुले जिम्मेवारी प्राप्त पछि गर्नुपर्ने कामहरु
नेपालको संविधान बमोजिम अनुसूचि,सुचि र विस्तृतीकरण,ऐनकाे कार्यसम्पादन नियमावली, स्थानीय तहको कार्यविभाजन नियमावली,स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन तथा स्थानीय तहको सभा र कार्यपालिकाले तोके बमोजिमका कार्यहरु सम्पादन गर्नुपर्ने हुन्छ ।
१) अध्यक्ष/ प्रमुखका कामहरु स्थानीय सरकार संचालन ऐन बमोजिम अध्यक्ष/प्रमुखले स्थानीय सरकारको नेतृत्व गर्ने, कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने,स्थानीय तहको कार्यसम्पादन नियमावली, स्थानीय तहको कार्यविभाजन नियमावली, स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन तथा स्थानीय तहको सभा र कार्यपालिकाले तोकेबमोजिमका अन्य कार्यहरु सम्पादन गर्नुपर्ने हुन्छ ।
२) उपाध्यक्ष / उपप्रमुखका कामहरु स्थानीय सरकार संचालन ऐन बमोजिम
क) न्यायिक समितिको संयोजक ऐनअनुसारका विभिन्न विवादहरुको निरुपण र विवादहरुको मेलमिलापको काम गर्ने ।
ख) अध्यक्ष / प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने ।
ग) पालिकभित्र गैरसरकारी सङ्घ संस्थाको कार्यहरुको समन्वयसम्बन्धी काम गर्ने ।
घ) उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने ।
ङ) योजना तथा कार्यक्रमहरुको अनुगमन तथा सुपरिबेक्षण गरी सोको प्रतिबेदन बैठकमा पेश गर्ने सम्बन्धी काम गर्ने ।
च) ऐन बमोजिम स्थानीय राजश्व परामर्श समितिको संयोजकका रुपमा काम गर्ने ।
छ) ऐन अनुसारको बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजकका रुपमा काम गर्ने ।
ज) सभा र कार्यपालिकाबाट गठन हुने विभिन्न समितिहरुको काममा सहजीकरण र समन्वय सम्बन्धी काम गर्ने ।
झ) ऐन अनुसारको सभामा बजेट, नीति तथा कर्यक्रम प्रस्तुत गर्ने ।
ञ) सभा तथा कार्यपालिका र अध्यक्ष / प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य काम हरु गर्ने ।
३) वडाअध्यक्षका काम स्थानीय सरकार संचालन ऐन बमोजिम वडा समितिको अध्यक्षका रुपमा वडाको नेतृत्व गर्ने, तथ्यांक संकलन सम्बन्धी, बिकास निर्माण सम्बन्धी, नियमन सम्बन्धी र सिफारिश तथा प्रमाणित गर्ने सम्बन्धी कार्यहरु गर्नुपर्ने हुन्छ ।
४) कार्यपालिका सदस्यहरुको काम स्थानीय सरकार संचालन ऐन बमोजिम कार्यपालिकाको बैठकमा भाग लिने र सभा / कार्यपालिकाले तोकेबमोजिमका कार्यहरु गर्नुपर्ने हुन्छ ।
५) सभा सदस्य / वडासदस्यहरुको काम स्थानीय सरकार संचालन ऐन, स्थानीय तहको कार्यबिभाजन नियमावली, स्थानीय तहको कार्यसम्पादन नियमावली, स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन र अन्य प्रचलित कानून आदिबाट तोकेबमोजिमक कार्य तथा सभा / कार्यपालिकाले तोकेबमोजिम र आफ्नो वडासमितिले तोकेबमोजिमका कार्यहरु
गर्नुपर्ने हुन्छ ।
महिला सहभागिताका सवालहरु
स्थानीय तहमा संख्यात्मक रुपमा ४०% सहभागिता र प्रतिनिधित्व हुनु राजनैतिक उपलब्धि केही उपलब्धिका लिन सकिन्छ भने अब सबै ठाउँमा समानुपातिक रुपमै ५०% सहभागीताका लागि अनवरत संघर्ष गर्नु पर्ने पनि छ । अहिले प्राप्त ४०% महिला अधिकारलाई गुणात्मक रुपमा समेत प्रभावकारी बनाउनुपर्ने देखिन्छ । स्थानीय तहमा महिला सहभागिताका केहि प्रतिनिधि सवालहरुलाई निम्नानुसार लिन सकिन्छ ।
१) पद र जिम्मेवारी अनुसारको कार्यसम्पादन गर्नका लागि आवश्यक ज्ञान, सीप र क्षमता बिकासका लागि प्रयाप्त तालिम एवं गोष्ठीहरु नहुदा कुशल कार्यसम्पदनमा समस्या छ ।
२) न्याय निरुपण र मेलमिलापको निष्पक्ष र तथष्ट भएर गर्नुपर्ने काम र जिम्मेवारी भएको न्यायिक समितिमा कुनै दलबाट निर्वाचित व्यक्तिहरुलाई राखिदा त्यसको निष्पक्षता र तथष्टतामा प्रश्न उठिरहेकाे छ ।
३) न्यायिक समितिमा प्रयाप्त न्यायिक ज्ञान एवं क्षमताको न्यूनता रहदा मुद्दाहरुको संख्या बढिरहेकाे छ ।
४) सक्रिय राजनीतिमा महिलाहरुको उपस्थिति कम हुनाले कतिपय ठाउमा कुनै पद निर्बिरोध निर्वाचित हुने,कतिपय पदमा कुनै पनि दलबाट उम्मेदवार नपाउदा (बिशेष गरी दलित महिला सदस्य पदमा मुलुकका १७५ वडामा ) निर्वाचित नै हुन सकेको छैन् ।
५) महिला र दलित महिलबाट प्रतिनिधित्व हुदा सबै महिला र दलित महिलाहरुले आफ्ना प्रतिनिधिबाट धेरै नै अपेक्षा गर्दा ती अपेक्षाहरु पुरा हुन सकिरहेका छैनन् ।
६) स्थानीय तहमा निर्वाचित महिलाहरुले कामको सिलशिलामा घर छोडेर बाहिर जानुपर्दा र पालिकाको जिम्मेवारी सम्हाल्दा घरधन्दा हेर्न नपाएका कारण कुटपिट, गालीबेइज्जती, काममा हस्तक्षेप हुने, घरेलु हिंसा,अविश्वाश,विभिन्न आरोप तथा आशंका,पीडा र दमन, घरझगडा, मुद्दामामिला आदि समेत सहनु परिरहेको छ ।
७) समाजले निर्धारण गरेको महिलाको परम्परागत भूमिका र महिलाप्रति कम बिश्वास गरिने कारणबाट पारिवारिक र सामाजिक समस्या समेत निम्तिने देखिएकाे छ ।
८) पालिकाकै पुरुष जनप्रतिनिधि र पुरुष कर्मचारीहरुबाट हेपिनुपर्ने, असमानता र विभेद सहनुपर्ने, हप्कीदप्की र हिंसा सहनुपर्ने, चरित्रहत्या हुने तथा अविश्वास गरिने जस्ता समस्या समेत महिला जनप्रतिनिधिहरूमा रहेको छ ।
९) महिला जनप्रतिनिधिहरुलाई सवारी साधन लगाएतका सेवासुविधामा असमानता र विभेद हुने गरेको छ ।
१०) महिलाहरुलाई हेर्ने परम्परागत सामाजिक दृष्टिकोणमा अझै परिवर्तन हुन नसक्दा जतिसुकै योग्य र सक्षम भए पनि महिलालाई नेतृत्वमा स्वीकार्न नसक्ने, टिक्न नदिने विभिन्न षड्यन्त र जालप्रपञ्च रचि अन्याय गरेको पाइन्छ ।
११) वडासमिति,कार्यपालिका र सभामा महिला / दलित महिला जनप्रतिनिधिहरुको आवाज तथा सवालहरु नसुनिने, निर्णय प्रक्रियामा उनीहरुलाई नाम मात्रको सहभागिता गराइने गरेको देखिन्छ ।
१२) तालिम, गोष्ठी, क्षमता विकासका कार्यक्रम लगायतमा महिला जनप्रतिनिधिहरुलाई सहभागी नगराउने अनि कुनै अवसर र जिम्मेवारी दिनुपर्दा सक्दैनन् भनेर पन्छाउने गरेको पनि देखिन्छ ।
१३) महत्वपुर्ण र मुख्य कुराहरुको जानकारी नै नदिईने, कतिपय स्थानमा दलित महिला जनप्रतिनिधिहरुलाई छुवाछुतको भेदभाव समेत हुने गरेको र महिलाहरुले आफ्नो अस्तित्वको लडाई लड्नुपर्ने अवस्था सिर्जना पनि भएको छ ।
१४) महिलाहरुलाई स्थानीय तहमा जनप्रतिनिधिहरुको रुपमा उम्मेदवार छनौट गर्दा अपांगता भएका तथा आदिबासी एवं जनजातिहरु (महिला भित्रका पनि महिलाहरु) लाई समाबेशी रुपमा छनौट नगरिएको भेटिन्छ ।
निष्कर्ष
महिलाहरु आफ्नो कामप्रति इमान्दार, बफादार र कटिबद्ध हुने, महिला प्रमुख भएका ठाउँमा सहज र सरल रूपमा भेटघाट र कुराकानी गर्न सकिने, महिलाहरु बिषयबस्तु र मूल मुद्दामा मात्र केन्द्रित रहने, अनावश्यक गफगाफमा समय नखर्चिने, सामाजिक रूपान्तरण तथा विकासका कुरामा महिला सहज र अडिग रूपमा प्रस्तुत हुने, महिलाहरु तुलनात्मक रुपमा बढी मेहेनेती हुने, काम तथा जिम्मेवारीमा रातदिन खटिन सक्ने, अरुलाई धोका नदिने, कम खर्च गर्ने / मितव्ययी हुने जस्ता विशेषता हुने हुनाले उनीहरुले नेतृत्व गरेको पालिकाहरुको समग्र अवस्था राष्ट्रिय औशत भन्दा माथि रहेको पाइन्छ । यसबाट महिलाले काम गरेर देखाउँछन्, गफ मात्र लगाउँदैनन्, भनेको कुरा पुरा गरेर देखाउछन भन्ने कुरा साबित भएको छ । त्यसैले महिला जनप्रतिनिधिहरुको लागि यो गतिलो अवसर र चुनौती दुबै हो । यसको सदुपयोग गर्दै महिलाहरु आफैले आफ्नो सफलताको कथा लेख्दै, इतिहास रच्दै अगाडि बढ्ने र दिगो विकास लक्ष्यले निर्धारण गरेको छ त्यसकारण अब ४०% हाेईन् ५०% महिला अधिकार सुनिश्चित गरिनुपर्छ । महिला पुरुष बराबरी सहभागिताको लक्ष्य पूरा गर्ने अभिभारा महिला जनप्रतिनिधिहरुको काँधमा छ । काम गर्नका लागि अबसर र अधिकार मात्रै दिएर हुँदैन, राजनीतिक र आर्थिक अधिकार सहित महिलाको आर्थिक, सामाजिक र मनोवैज्ञानिक क्षमता पनि क्रमशः वृद्धि गरिनुपर्छ । नेपालमै पनि राष्ट्रपति महिला नै हुनु,प्रधानन्यायाधीश पनि महिला हुनु र भर्खरै सुचना तथा संचार मन्त्रालयमा न्युनतम पारिश्रमिक निर्धारण समितिमा पहिलोपटक महिला नियुक्ति हुनु हाम्रा लागि गौरवका बिषय हुन । त्यसैले आगामी दिनहरुमा महिलाहरुलाई नेतृत्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ । त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै अगाडि बढ्नु हामी स्वयम् महिलाहरुकाे अनिवार्य अावश्यकता पनि बन्न गएको छ । शताब्दियाैं देखि पछाडि पर्दै र पारिंदै आएका महिलाहरुलाई राष्ट्रिय बिकासको मुलधारमा ल्याउन र राज्यको सबै तहमा पुर्याउन समाजमा रहेको परम्परावादी पितृसतात्मक सोचमा परिवर्तन गर्न आवश्यक छ । त्यसैले आगामी दिनहरुमा महिलाहरुलाई नेतृत्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ । (सन्दर्भ सामाग्री : स्थानीय सरकार संचालन ऐन र नियावलि अादि)
प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार