
सर्लाहीको बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेल पुर्पक्षमा कारागार चलान भएका छन् ।
जिल्ला अदालत मलंगवाका न्यायाधीश टेकनाथ गौतमको ईजलासले अभियुक्त पाेखरेललाई पुर्पक्षका लागि सिन्धुली कारागार चलान गर्न आदेश भएको हो । जिल्ला प्रहरी कार्यालय मलंगवाले दर्ता गरेकाे ज्यान मार्ने उद्योग तथा आपराधिक षडयन्त्र मुद्दामा शुक्रबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश गाैतमले लेखा अधिकृत पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएका हुन् । जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ अर्यालले अभियुक्त पाेखरेललाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएकाे जानकारी दिए ।
सर्लाहीकै हरिवन नगरपालिका-११ निवासी व्यवसायी अर्जुन रायमाझीलाई गोली हान्न भारतबाट सुटर ल्याएको भन्दै उजुरी परेपछि फरार रहेका पोखरेललाई गत चैत ६ गते हिमाली जिल्ला म्याग्दीबाट स्थानीय प्रहरीले पक्राउ गरी सर्लाही पठाएकाे थियाे । गत पुस २२ गते जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि सर्लाहीकै हरिवन नगरपालिका-९, नोचा निवासी लेखा अधिकृत पाेखरेल फरार भएका थिए ।
लेखा अधिकृत पोखरेलको मुख्य योजनामा आफूलाई गोली हान्न तीनजना भारतीय सुटरलाई हरिवन स्थित आफ्नाे घर क्षेत्रमै ल्याएको भन्दै व्यवसायी रायमाझीले जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी जाहेरी दिएका थिए । आफूलाई मार्न अभियुक्त पाेखरेलबाट सुपारी बुझेर भारतबाट आएका सुटर आफैले सम्पर्क गरेर सम्पूर्ण याेजनाबारे बताएकाे र ती सबै कुराकाे भीडीओ र अडियाे रेकर्ड समेत सुरक्षित रहेकाे रायमाझीले दाबी गरेका छन् ।