
चीन सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । शनिबार साँझ बालुवाटारमा आयोजित एक कार्यक्रममा चीनका विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्रीमार्फत् विमानस्थलको चाबी नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए । चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदर कायम गरी पोखरा विमानस्थल बनाउन नेपाललाई २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो । विमानस्थल निर्माणको ठेक्कासमेत चीन सरकारकै स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले पाएको थियो । राष्ट्रिय गौरवको आयोजनामा समावेश विमानस्थलको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ७४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । नेपाल सरकारले विमानस्थलको काम २०२१ जुलाई १० भित्र सक्ने कार्यादेश चिनियाँ कम्पनी सिएएमसीईलाई दिएको थियो ।