नेपालगञ्ज/सामुमदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १६ औँ वार्षिक साधारणसभाको तयारी पूरा भएको छ ।
अकोराबले आफ्नो २२औँ स्थापना दिवसको अवसर पारेर बाँकेको नेपालगञ्जमा भोलि र पर्सि साधारण सभा तथा सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
आज नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै अकोराबले कार्यक्रमको सबै तयारी पूरा भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा अकोरावका अध्यक्ष अर्जुन गिरीले भोलि र पर्सी दुई दिन आयोजना हुने कार्यक्रमबाट सामुदायिक रेडियोहरूको अबको कार्यदिशा तय गरिने बताउनुभयो ।
कार्यक्रमले सामुदायिक रेडियो आन्दोलनलाई थप बलियो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
मुलुकमा भएका ठूला परिवर्तन र विपदमा सामुदायिक रेडियोहरूले खेलेको भूमिकाकै कारण स्रोताहरूको विश्वास बढ्दै गएको उहाँको भनाइ थियो ।
‘यो माया र विश्वासलाई जोगाइ राख्न अकोराब प्रतिबद्ध छ ।’ अध्यक्ष गिरीले भन्नुभयो । सम्मेलनले नयाँ ऊर्जा र अवधारणा बनाउन मद्दत पुग्नेमा उहाँले जोड दिनुभयो ।
साधारण सभा र राष्ट्रिय सम्मेलनमा देशभरका तीन सय ६१ सामुदायिक रेडियोका प्रतिनिधि उपस्थित हुने अकोराबका महासचिव किशोरजङ्ग थापाले जानकारी दिनुभयो । (स्राेत-Cin)