
चर्चाको दृष्टिले देशकै ठूला पार्टी भइटोपलेकाहरुले करोडौं लगानी गरेर हल्लाखल्लाकासाथ गरेका महाधिवेशनले मिडियामा त्यति महत्व पाएनन। केही भाडामा लिइएका मिडियाबाहेक अरुले त्यति स्थान दिएनन।
चासोका दृष्टिले आफ्ना एजेन्टहरुलाई नेतृत्वमा पुर्याउन केही वैदेशिक शक्तिकेन्द्रको चलखेल र ती दलहरुमाथी लगानी गर्ने दलाल पुँजीवादी वर्गका विभिन्न गुटहरुको दौडधुप बाहेक आम श्रमिक वर्गको लागि तिनको महाधिवेशन `कौवालाई बेल´ साबित भयो।
तिनका महाधिवेशन भनिएका कुम्भ मेलामा पदको लुछाचुँडी बाहेक हेर्न लायक अरु केही देखिएन। देशबारे कुम्भ मेलालाई कुनै पर्वाह थिएन। जनताका प्रस्तावहरु उनीहरुको कार्यसूचीबाट गायब भएको उहिल्यै हो।
बरु तिनका महाधिवेशनको प्रभावबारे मिडियामा यस्तो खबर आउँछ:
`महाधिवेशन गरिएको सहरमा कन्डोमको बिक्रीले रेकर्ड तोड्यो, बजारमा कन्डोमको अभाब´
तर, नेपाल कम्युनिस्ट पार्टीको शिवगढीमा जारी केन्द्रीय समितिको बैठकले सिङ्गो देश तरंगित पार्ने हैसियत राख्यो।
पार्टीको आकार भन्दा विचार हजारौं गुणा शक्तिशाली हुँदोरहेछ भन्ने सच्चाइको जीवन्त प्रमाण हो यो।
यतिबेला सबैको ध्यान शिवगडीले खिचेको छ। देशभक्तहरु, प्रगतिशील तप्का, सच्चा लोकतन्त्रवादीहरु, सबै क्षेत्रका क्रान्तिकारीहरु र आम जनताको स्तरबाट गम्भीर चासो, चिन्ता र अपेक्षाकासाथ हेरिएको छ। त्यसैगरी दलाल पुँजीवादीहरु, वैदेशिक शक्तिकेन्द्रका भरियाहरु र साम्राज्यवादीहरुले समेत त्रासपूर्ण निगरानीकासाथ हेरिरहेका छन।
देशको जिम्मा लिने ऐतिहासिक दायित्वबोधकासाथ शीरमा कफन बाँधेर हेलिएको सच्चा कम्युनिस्ट पार्टीमा गरमागरम वहस हुन्छ। विचारमाथी वहस हुन्छ। कार्यदिशामा आधारित रणनीति र कार्यनीतिमाथी वहस हुन्छ। छाती खोलेर वहस हुन्छ। बिना कुनै छलछाम दिल खोलेर वहस हुन्छ। वहस त्यतिखेरसम्म टुंगिदैन, जतिखेरसम्म सत्य भेटिदैन। हो, सत्यको अन्वेषण गर्न वहस हुन्छ। यो कम्युनिस्टको चरित्र हो। संसदवादी, पुँजीवादी पार्टीहरु र कम्युनिस्ट पार्टीमा फरक यहाँनेर छ।
शिवगढी बैठकले उद्घाटन गरेको तथ्य अर्को पनि छ। त्यो हो, नेता कार्यकर्ताको उन्नत वैचारिक कम्युनिस्ट चेतना। संसदवादी, पुँजीवादीहरुसँग विचार हुँदैन वा विचार गौण हुन्छ, त्यसैले नेता नै सबथोक हुन्छ। नेताको चाकडी गरेर ब्यक्तिगत लाभ उठाउने होडबाजी हुन्छ। त्यसैले नेताले जस्तोसुकै अपराध गरेपनी ताली पिट्नु कार्यकर्ताको नियती बन्छ। यो विचारशुन्य राजनीतिक संस्कार हो। तर, कम्युनिस्टहरुले देश, जनता र क्रान्तिका प्रस्तावको कसीमा नेतालाई हेर्न सक्ने सामर्थ्य राख्छन। त्यही अनुरुप नेतृत्वको महत्वलाई स्थापित गर्छन। र, हर मामिलालाई आलोचनात्मक चेतकासाथ अगाडि बढाउँछन। यो कम्युनिस्टहरुको चरित्र हो। शिवगढी बैठकमा कमरेडली सम्बन्धको यो उचाईबाट भैरहेको न्यानो र सौहार्द्धपूर्ण वहसले असल कम्युनिस्ट परम्पराको विरासत पुनस्थापित गर्न महत्वपूर्ण योगदान गरेको छ।
विषयको यो महत्वलाई बुझ्न नसक्नेहरुले पार्टीमा बिवाद देख्छन, लडामती लेख्छन, कतिपय दक्षिणपन्थी भाटहरु विभाजनको मनोकामनाकासाथ आत्मरतिमा रमाउदै पनि छन। कतिपयले यसैमा निराशाको खेती गर्ने निरर्थक बल गर्दैछन। खासगरी मिडियालाई दुरुपयोग गरेर गरिएका यस्ता हर्कतले उनीहरुकै चेतना र संस्कारको दयनीय हालतलाई मात्र प्रकट गरेको छ ।
निश्चित छ कि, शिवगडी बैठकले क्रान्तिकारी बर्ग, मित्रशक्ती, शुभेच्छुकहरु र श्रमिक जनताको भरोसालाई नयाँ उचाइमा उठाउँदै सबै प्रकारका खुराफातलाई दह्रो झापड दिन सफल रहनेछ ।